काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सम्पन्न भएको छ। बैठकमा भोटेकोशी–त्रिशूली नदी करिडोरमा बाढीपछि उत्पन्न विपद्को अवस्था, खोजी तथा उद्धार, राहत र पुनर्स्थापनालगायत विषयमा विस्तृत छलफल भएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
खरेलका अनुसार पार्टीका तर्फबाट सरकारका विभिन्न निकायमा जिम्मेवारीमा रहेका पदाधिकारीहरूले बाढीपछिको खोजी, उद्धार तथा राहत कार्यको अवस्थाबारे बैठकलाई जानकारी गराएका थिए।बाढीबाट प्रभावित नागरिकको दीगो पुनर्स्थापनाका लागि सरकारले शीघ्र काम अघि बढाउनुपर्ने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए।बाढीमा ठूलो संख्यामा मानिस बेपत्ता भएकाले लामो समयसम्म उनीहरूको अवस्था पत्ता नलाग्दा परिवारले जीवित भेटिने आशा त्याग्नुपर्ने अवस्था आएमा कानुनी प्रक्रियामा आवश्यक सहजीकरण गर्न ढिलाइ गर्न नहुने विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको खरेलले बताए।
त्यस्तै, मधेश प्रदेशमा पार्टीको आन्तरिक संगठनमा देखिएका समस्याबारे सहमहामन्त्री हरि ढकालको नेतृत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदन सचिवालयमा बुझाएको छ।लामो समयदेखि प्रदेश अधिवेशन गर्न नसकेको रास्वपाले मातहतका समितिमा देखिएका विवाद तथा संगठनात्मक समस्या समाधानका उपायबारे अध्ययन गर्न उक्त समिति गठन गरेको थियो। ढकाल नेतृत्वको समितिले पूर्ण प्रतिवेदन केही समयपछि बुझाउने बताइएको छ।

बैठकले पार्टीका केही विभागमा सदस्य पदपूर्ति गर्ने विषयमा समेत निर्णय गरेको छ। ती विभागमा नियुक्त हुने सदस्यहरूको नाम भने पछि सार्वजनिक गरिने प्रवक्ता खरेलले जानकारी दिए।त्यस्तै, पार्टीका उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो भारत भ्रमणबारे सचिवालय बैठकमा जानकारी गराएका थिए।



