नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिने चरणमा

२७ असोज ८३, मंगलबार
Share this
787shares

२७ असोज , काठमाण्डौ ।

Advertisement

भदौ १० को रसुवा बाढी, त्यसयताका पनि दुई बाढीबाट तंग्रिने प्रयास जारी रहँदा यसैबीच नेपालीहरुको घरघरमा दशैंजस्तो महान चाड पनि आइसकेको छ । पीडाका बीचमा पनि हामीले हाम्रो परम्परा जगेर्ना गर्न, सांस्कृतिक धरोहरका रुपमा यी चाडपर्वहरुलाई संरक्षण हेतुले पनि मनाइरहेका छौं ।

र सुखद पक्ष के छ भने यसपटकको दशैं घमाइलो नै हुने भएको छ । बाढीको त्रासदीकाबीच अब भने ठूलो वर्षाकै कारण दशैंमा विपतको सामना गर्नु पर्ने सम्भावना कम छ । यद्यपि प्रकृति हो, र पछिल्लो पटक ठुलो वर्षाबिनै कहिले हिम पहिरो त कहिले सुख्खा पहिरोका कारण नदी थुनिएर बाढी आएको देखिएको छ ।

Advertisement

जे होस् दशैंमा भने वर्षा खासै नहुने सम्भावना छ । किनभने यस वर्षको मनसुन प्रणाली नेपालबाट पूर्णरूपमा बाहिरिने चरणमा छ । पश्चिम नेपालबाट मनसुन बाहिरिइसकेको छ । पूर्वी भूभागमा मनसुनी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिन अनुकूल वातावरण बन्दै गएको छ । अबका दुई–चार दिनमा मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको महाशाखाका मौसमविद् माधवी सिग्देलले बताइन् । आफूहरूले मनसुनको निरन्तर निगरानी गरिरहेको उनले उल्लेख गरिन् ।

Advertisement

मनसुन पूर्ण रूपमा बाहिरिएपछि महाशाखाले विशेष बुलेटिन जारी गर्ने उनले जानकारी दिइन् । हाल पश्चिम नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । पूर्वी भूभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको उनले जानकारी दिइन् ।

मनसुन कमजोर र पश्चिमी वायु पनि मजबुत नभएकाले यति बेला देशमा वर्षाको गतिविधि न्यून रहेको उनले बताइन् । “पश्चिमी वायु पनि अहिले स्ट्रङ भएर आइसकेको छैन,” उनले भनिन्, “धेरै स्ट्रङ भए त धेरै पानी परिहाल्छ । अलिकति प्रभाव छ दुवै वायुको ।”

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ हो । यो सरदर मिति मात्र भएकाले यसभन्दा ढिलो वा चाँडो पनि हुन सक्ने मौसमविद्ले बताउँदै आएका छन् । यसबीच आज उपत्यकासहित देशका धेरै ठाउँको मौसम घमाइलो छ ।

तर दिउँसोपछि भने हिमाली र पहाडी भागका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा थोरै ठाउँमा तथा देशका बाँकी हिमाली र पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

भोलि पहाडी र हिमाली भेगका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । पर्सि भने हिमाली र पहाडी भेगका एक–दुई ठाउँमा मध्यमसम्मकै वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच अस्ति आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ। चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीका कारण मनास्लुको चुमउपत्यका पुगेका ८७ जना पर्यटक समस्यामा परेका थिए ।

ती सबै पर्यटक सुरक्षित रहेका एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए । उनका अनुसार मनास्लु क्षेत्रको प्रवेशविन्दुमा अलपत्र परेका ९८ पर्यटक र ७३ जना गाइड तथा भरियाहरू पनि सुरक्षित छन् ।

आयोजनाका अनुसार बाढीले मनास्लु पदमार्गमा भने क्षति पु¥याएको छ । एमक्यापले अहिले चुमउपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ । चुमनुब्री गाउँपालिका–६ लोक्पा सार्दीभिरमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि चुमउपत्यकाको पदमार्ग अवरुद्ध बनेको हो ।

धार्चे गाउँपालिकाको माछाखोलाबाट चुमनुब्रीको जगतसम्मको बाटोका धेरैजसो ठाउँमा पदमार्ग क्षतिग्रस्त बनेको एमक्यापका सूचना अधिकारी ओझाले बताए । ओझाका अनुसार फिलिमबाट लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित छ ।

तर, माछाखोलाबाट जगतसम्म र सल्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ । आयोजनाले क्षतिग्रस्त पदमार्ग पुनर्निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top