अब एउटा वडामा २ वटा मात्रै रक्सी पसल खोल्न पाइने, प्रस्ताव पुग्यो केपी ओलीको टेबलमा

अब एउटा वडामा २ वटा मात्रै रक्सी पसल खोल्न पाइने, प्रस्ताव पुग्यो केपी ओलीको टेबलमा

काठमाडौं,मंसिर ७

छिमेकी भारतको विहारमा मदिराजन्य पदार्थ बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएको दुई बर्षपछि नेपाल सरकारले मदिराजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्ने भएको छ । यसका लागि गृह मन्त्रालयले ‘मदिरा उत्पादन तथा बिक्री बितरणको नियमन तथा हानीकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश २०७५’ तयार गरी स्वीकृतिका लागि मन्त्रीपरिषदमा पेश गरेको छ ।

स्वीकृतिका लागि पठाइएको उक्त आदेशमा मदिरालाई जनस्वास्थ्य, शान्तिसुरक्षा तथा अमनचयनमा नकारात्मक असर गर्ने वस्तुको रुपमा व्याख्य गरिएको छ । विश्व स्वास्थ्य संगठनले समेत मदिरालाई मृत्युको प्रमुख कारण मानेको परिप्रेक्षमा यसलाई नियमन गर्नु सरकारको कर्तव्य हुने आदेशमा उल्लेख छ ।

उक्त कार्यकारी आदेश मन्त्रीपरिषदबाट पास भएमा मदिरा उत्पादकले सूर्तिजन्य पदार्थमा जस्तै आफेनो प्याकेट तथा बोतलमा चेतावनीमूलक सन्देशयुक्त फोटो र सूचना लेख्नुपर्नेछ । त्यस्तै, कुनै पनि सार्वजनिक समारोह एवं कार्यक्रमहरुमा त्यस्ता पेय पदार्थ पिउन पाइने छैन ।

त्यस्तै सार्वजनिक स्थल, कार्यस्थल, राजमार्ग वरपर, आवास क्षेत्र शैक्षिक क्षेत्र, धार्मिक क्षेत्र सवारीसाधन, अन्तराष्ट्रिय सीमाना लगायत सरकारले तोकेका क्षेत्र  वरपरसम्म यस्ता पदार्थको प्रयोग गर्न पाइने छैन भने त्यस्ता पदार्थहरुको प्रचारप्रसार एवं विज्ञापन गर्न समेत पूर्ण रुपमा प्रतिबन्ध लगाइनेछ ।

आदेशले प्रत्येक गाउँपालिका क्षेत्रमा वडामा एउटा र नगर क्षेत्रमा दुईओटासम्म मदिरा पसल राख्ने अनुमति दिनसक्ने व्यवस्था गरेको छ ।

मदिरा बिक्रीको सन्दर्भमा पनि आदेशले स्पष्ट व्यवस्था गरेको छ । त्यस्ता पसलहरु बेलुकी ५ बजेदेखि १० बजेसम्म खुल्न पाउनेछने भने मदिरा बिक्रेताले मदिरा किन्न आउनेको व्यक्तिगत विवरण लिनुपर्नेछ ।

नयाँ उद्योग सञ्चालनमा प्रतिबन्ध

यो आदेशले उद्योग सञ्चालन अनुमति लिएर चुक्ता पुँजीको ६० प्रतिशत भन्दा बढी लगानी गरिसकेका कम्पनीबाहेक अरुलाई नयाँ उद्योग इजाजत नदिने व्यवस्था समेत गरेको छ । त्यस्तै, कार्यकारी आदेशको प्रतिकुल हुने स्थानमा रहेका उद्योगहरुलाई समेत निश्चित समयभित्र स्थानान्तरण गरिसक्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

मदिरा विक्री पसल टाढा रहनुपर्ने

आदेशले स्थानीय सरकारलाई औचित्यका आधारमा मदिरा पसल खोल्ने अनुमति दिन सक्ने व्यवस्था गरेको छ । तर, मदिरा पसलहरु धार्मिक, शैक्षिक तथा सार्वजनिक स्थलबाट कम्तीमा ३ किलोमिटर तथा विश्व सम्पदा क्षेत्रबाट कम्तीमा ५०० मिटर टाढा हुनुपर्नेछ । तर कुनै पनि तहको सरकारले आफ्नो कार्यक्षेत्रलाई मदिरा निषेधित घोषणा गरे त्यस्ता पसलहरु स्वतः हट्नुपर्ने व्यवस्था गरिएको छ ।

मदिरा उपहार दिन नपाइने
त्यस्तै, मदिराजन्य पदार्थ सेवनका लागि कसैलाई प्रोत्साहित गर्न मदिरा उपहार दिने, पहिले मदिरा सेवन गर्न छाडिसकेकालाई फेरि सेवन गर्न उक्साउने जस्ता कार्य गर्न समेत आदेशले रोक लगाएको छ ।

रक्सी खाएर सार्वजनिक सवारीमा यात्रा गर्न रोक
उक्त आदेश अनुसार कुनै व्यक्तिले मदिरा सेवन गरेको अवस्थामा उसलाई सार्वजनिक सवारीमार्फत् यात्रा गर्न समेत रोक लगाइनेछ । त्यस्तै देशका जुनकुनै स्थानमा पनि मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारबाही गर्ने अभियान विस्तार गरिनेछ । (विकास न्युज)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.