२६ असार, काठमाडौं ।
भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीसहित ५ जनाको मृत्यु भएको छ। मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो।
घटनामा ज्यान गुमाउनेमा बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’ अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्का रहेका छन् । उनीहरु थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हुन्। उनीहरू रोजगारीका लागि बैंगलोरमा थिए। मृतक खड्काका छोरा भने धनगढीमा छन्।
मृतक खड्का ६ वर्षदेखि उक्त अपार्टमेन्टमा काम गर्थे। भुइँतलामा खड्का परिवारको बसोबास थियो। राति करिब २ बजेतिर भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको मृतकका परिवारले बताएका छन्।
तीनैजनाको शव बओरिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ। ज्यान गुमाउने अन्य दुईजना भारत बिहारका रहेको भारतीय मिडियाले लेखेका छन्। घटनामा ७ जना घाइते भएका छन्।