डा. सिके राउतको जीवनमाथि ‘डा. सिके राउत : द प्यासन’ फिल्म बन्ने

डा. सिके राउतको जीवनमाथि ‘डा. सिके राउत : द प्यासन’ फिल्म बन्ने

२ साउन, काठमाडौँ ।
मधेश अभियन्ता डा. सिके राउतको जीवनीमाथि नेपाली फिल्म निर्माण हुने भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमका बिच उनको जीवनीमाथि बन्ने ‘डा. सिके राउत : द प्यासन’ औपचारिक निर्माण घोषणा गरिएको हो । कार्यक्रममा निर्माण टिमले टीजर पनि सार्वजनिक र्गयो ।

सो फिल्ममा सिके राउतको भूमिका ‘एस.पी खरेल’ फिल्मबाट चर्चामा आएका भोजपुरी फिल्मका ‘पावर स्टार’ को रुपमा परिचित परदेशी शाहले निभाउनेछन् । फिल्मको घोषणा सभामा सिके राउत स्वयं उपस्थिति भएका थिए ।  दुई दर्जन बढी भोजपुरी फिल्मको क्याप्टेनसिप सम्हालिसकेका सन्तोष शाहले फिल्मको निर्देशन गर्नेछन् । फिल्मको कथा पनि उनी स्वयंले तयार पारेका हुन् । नेपाली, भोजपुरी र हिन्दी भाषामा निर्माण हुने फिल्मको छायांकन विरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा हुने निर्माता बाबुले जानकारी दिए । भदौबाट फिल्मको छायांकन सुरु हुनेछ भने आउँदो छठ पर्वमा रिलिज गर्ने निर्माण टिमको तयारी छ ।

‘डा. सिके राउत’ मा पुकार भट्टराई, ध्रुव कोइराला, विशाल पहारी, किरण थापा, राजिव कर्णलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेत्रीको भने टुंगो लागेको छैन । अभिनेता शाहले फिल्ममा सिके राउतको भूमिका निर्वाहा गर्न पाउनु आफ्नो लागि ठूलो अवसर र चुनौती रहेको बताए । उनले भने, ‘सिके राउत सरको बोल्ने र हिँड्ने स्टाइल कपी गर्न मैले केही दिन उहाँको संगत गरेँ । अझै १०–१५ दिन उहाँसँग बसेर सिक्नु छ । यो फिल्म मधेशको मात्र नभएर सिंगो नेपालको हो ।’

पवन गौतमले खिच्ने फिल्ममा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ । बन्दे प्रसादले फिल्मको सम्पादन गर्ने जिम्मेवारी पाएका छन् । रेवन्त विक्रम थापाको द्वन्द्व निर्देशन रहने फिल्मलाई कमर्शियल बनाउन सिके राउतको जीवनको ५० प्रतिशत र बाँकी काल्पनिक कथा जोडिने बताइएको छ ।

कार्यक्रममा बोल्दै राउतले यसअघि पनि मुम्बईको एक टिमले दुई पटक आफ्नो जीवनीमाथि फिल्म बनाउने तयारी गरे पनि आफ्नै कारण निर्माण हुन नसकेको खुलाए । फिल्मको टीजर हेरेपछि सन्तुष्ट देखिएका उनले मधेश आन्दोलनमा आफूले गरेको संघर्षको कथामा फिल्म बन्ने बताए ।

उनले फिल्मलाई फिल्मकै रुपमा बुझ्न आग्रह गर्दै भने, ‘फिल्ममा केही विवादस्पद कुरा पनि आउन सक्छन् । तर, त्यो एउटा इतिहास भइसकेको छ ।’ माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको निर्माण लागत डेढ करोड अनुमान गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.