२३ भदौ, धरान ।
धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा देखिएको समस्या भविष्यमा नदेखिने गरी सरकारले समाधान चाहेको उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् ।
विपी कोइरालाको १०५ औं जन्मजयन्ती तथा विपी प्रतिष्ठानको २६ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रतिष्ठानको समस्या समाधान गर्न सरकारले प्रक्रिया पनि अघि बढाइसकेको बताए ।
प्रतिष्ठानमा जटिल समस्या देखा परेको भन्दै मन्त्री यादवले सबै मिलेर नै समाधान गर्नुपर्ने बताए । प्रतिष्ठानलाई सुधार गर्न राम्रो समझदारी र सहकार्य आवश्यक भएको पनि मन्त्री यादवले बताए ।
सरकारले प्रत्येक वडामा स्वास्थ्य चौकी, गाउँपालिकामा अस्पताल र प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताए । मन्त्री यादवले प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालय बनाउने तयारी भएको पनि बताए ।
उनले पछिल्लो सयम देशभरी फैलिएको डेगुं नियन्त्रणका लागि सबै लाग्नु पर्ने बताउदैं सरकारले त्यसका लागि अभियान चलाएको बताए ।
कार्यक्रममा प्रदेश १ संसदका सभामुख प्रदिपकुमार भण्डारीले प्रतिष्ठानको अवस्थाबारे संघीय सरकारको ध्यानाकर्षण गराउदै समाधानको लागि गम्भीर हुन आग्रह गरेका थिए ।
उनले स्वास्थ्य उपचार सेवा, शिक्षण गुणस्तरीय बनाउनतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.गुरुप्रसाद खनाल, प्रदेश १ का प्रमुख प्रा डा.गोविन्दबहादुर तुम्बाहाङ लगायतले सम्बोधन गरेका थिए ।