२६ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले साढे तीन बर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्ने दावी गरेका छन् ।
नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री महासेठले सरकारले साढे तीन बर्षभित्र छ लेन, चार लेन र दुई लेन गरि १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्न लागेको बताएका हुन् ।
मन्त्री महासेठले स्थानीय तहदेखि केन्द्रीय तहका सडक आयोजना निर्माण,मर्मतसम्भार लगायतका सडक पूर्वाधारमा सबै तहका सरकारहरुले समन्वयात्मक ढंगले काम गरिरहेको बताएका छन् ।
सरकारले पाँच बर्ष भित्र यस्ता राजमार्ग निमार्ण गर्ने लक्ष्य लिए पनि साढे तीन बर्षभित्रै सम्पन्न हुने उनको दावी छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले आर्थिक बर्ष २०७३/७४ को मसान्त्त पछि ठेक्का सम्झौता भएका सबै आयोजनाहरु तोकिएकै समयमा सम्पन्न हुने दावी समेत गरे । उनले २५ बर्ष पहिले ठेक्का सम्झौता भएका आयोजनाहरु अहिले सम्म पनि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै अब देखि त्यस्ता आयोजनाहरु तोकिएकै समयमा सम्पन्न नभए कारवाहि गरिने समेत बताए ।
मन्त्री महासेठले सरकारले विदेशी लगानी आकर्षण गर्न आवश्यक सबै कानून निर्माण गरि सकेको पनि बताए । कार्यक्रममा मन्त्री महासेठले सरकारको महाअभियानमा सबैले साथ दिन आग्रह पनि गरे ।
नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलन विहीबार सकिएको छ ।
सम्मेलनको पहिलो दिन ७ प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश भित्रका विकाश पूर्वाधार सम्बन्धी बिभिन्न आयोजना बारे लगानीकर्ता, ब्यबसायीहरुलाई जानकारी गराएका थिए । नेपाल सरकारले लगानी सम्मेलनमा सोकेस गरेका धेरै आयोजना बारे यस सम्मेलनमा पनि छलफल भएको छ ।