११ पुस, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम बहादुर रावलले नेपालको संविधान नै अमेरिकाको अधिनमा हुनेगरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता भएको बताएका छन् ।
उनले देशको विकासका लागि अमेरिकी सहयोग आवश्यक भएपनि देशकत्रो हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई ध्यान दिनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा नेता रावलले एमसिसि सम्झौताको धारा सातको दफा सात एकमा ‘प्रस्तुत सम्झौता लागू भए पश्चात प्रस्तुत सम्झौता र नेपालको राष्ट्रिय कानून बाझिएमा प्रस्तुत सम्झौता लागू हुने छ’ भन्ने व्यवस्था रहेको भन्दै मूल कानून नेपालको संविधान पनि भएकाले कुनै देशसँग गरिएको सम्झौताको कनैदफा बाझिएमा नेपालको कानून नै त्यसको अधिनमा हुने विषय मान्य नहुने बताए । त्यसको जवाफ सम्झौता गर्नेले नेपाली जनतालाई दिनुपर्ने उनले बताए ।
नेपाल सरकार र एसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानमाथि प्रश्न उठाउँदा आफुलाई अल्पज्ञानी भएको आरोप लगाउनेहरुले देशको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डतामाथि नै घात गरेको बताए । उनले ठुलो रकम सहयोग पाउने आशामा देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमान माथि आँच पुग्ने काम गर्न नहुने बताए।