१३ माघ, काठमाडौं । नक्कली भ्याट बिल प्रकरणमा राजस्व अनुसन्धान विभागले दुई कम्पनीविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले काठमाडौं-१७ को रेजिङ इन्टरनेसनल प्रालि र हेटौंडा-२ को हनुमान कन्स्ट्रक्सन प्रालिविरूद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
विभागका अनुसार रेजिङका प्रोप्राइटर सञ्जीव मास्केलाई १४ करोड ८७ लाख बिगो मागी तीन वर्ष सजाय माग गरिएको छ ।
यस्तै, हनुमान कन्स्ट्रक्सनका प्रोप्राइटर शालिकराम न्यौपाने र कर्मचारी विश्वराज सुवेदीलाई आठ करोड ६२ लाख १८ हजार ८०० रुपैयाँ बिगो र तीन वर्ष सजाय माग गरिएको छ ।
अनुसन्धानअनुसार रेजिङ इन्टरनेसनलले वस्तु तथा सेवा खरिद नै नगरी नक्कली बिजक प्रयोग गरेर मूल्य अभिवृद्धि कर चार करोड ३२ लाख ६९ हजार २८३ र आयकर दस करोड ५४ लाख ३९ हजार ५९५ रूपैयाँ राजश्व चुहावट गरेको पाइएको छ ।
यस्तै, हनुमान कन्स्ट्रक्सनले मूल्य अभिवृद्धि करतर्फ २ करोड ५० लाख १४ हजार १९८ र आयकर ६ करोड १२ लाख ४ हजार ६०२ रुपैयाँ राजस्व छलेको पाइएको विभागले जनाएको छ ।