२० माघ, काठमाडौँ ।
भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने नेपालको लक्ष्यमा पहिलो गाँसमै ढुङ्गा लागेको छ । २० लाख मध्ये चीनबाट मात्रै तीन लाख पर्यटक भित्र्याउने सरकारको योजनामा चीनमा देखिएको कोरोना भाइरस बाधक बनेको छ । चिनियाँ नयाँ वर्षको सुरुमै चीनले कोरोनाको महामारीसँग लड्नुपरेपछि धेरैभन्दा धेरै पर्यटक भित्र्याउने नेपालको सपनामाथि ठेस लागेको हो ।
चीनको वुहान सहरमा देखा परेको कोरोना भाईरस यतिबेला तीव्ररुपमा फैलिरहेको छ । कोरोनाका कारण आईतबारसम्म चीनमा मात्रै ३ सय ६२ जनाको ज्यान भईसकेको छ चीनबाहिर पनि पहिलो पटक फिलिपिन्समा एक जनाको ज्यान गएको छ । माहामारीको रुपमा विश्वभर तीव्र फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य सङ्कट’ निम्त्याएको भन्दै आपत्काल घोषणा समेत गरेको छ । नयाँ वर्षको सँघारमा आएर यस्तो भयावह भाइरसद्वारा सिर्जित मानव विपत्तिको सामना गर्नुपरिरहेको अवस्थाले हाम्रो मुलुकको गतिशील पर्यटनलाई गतिहीनतातर्फ धकेलिने संभावना देखिएको छ । नयाँ वर्षमा ठूलो आर्थिक गतिविधि हुने र लामो छुट्टी समेत पर्ने भएकाले चिनियाँहरु यस अवसरमा ठूलो संख्यामा विदेश घुम्न निस्कने गर्दछन । ती मध्ये नेपाल आउने पर्यटकको सख्यापनि उल्लेखीय हुने गर्दथ्यो । तर यत्ति नै बेला फैलिएको कोरोना भाईरसका कारण चीन सरकारले थुप्रै प्रान्तका वासिन्दालाई विदेश भ्रमणमा प्रतिबन्ध लगाएको छ भने संसारभरी नै चिनियाँ पर्यटकप्रति सतर्कता अपनाइएको छ ।
यो सँगै नेपाल भ्रमणमा आउने चीनीयाँ पर्यटक घटेका छन् । हालसम्म कोरोना भाईरस २६ देशमा फैलिसकेको छ । विभिन्न देशका वैज्ञानिकहरु प्रयासरत भएपनि कोरोना विरुद्धको औषधी हालसम्म पत्ता लाग्न सकेको छैन । संक्रमण रोकथामका लागि सबैभन्दा बढी माक्स उत्पादन गर्ने चीनले नै यतिबेला नेपाल लगायत देशबाट माक्स लगिरहेको छ । हरेकरुपले सम्पन्न देशमा नै नियन्त्रण नभएको यो माहामारी नेपालमा फैलिए ठूलो संकट निम्तने खतरा छ । विश्व स्वास्थ्य संगठनले पनि नेपाल जस्ता कमजोर देशमा ठूलो असर पार्ने औँल्याई सकेको छ । विश्व भर फैलिएको कोरोना अन्य देशबाट समेत नेपालमा फैलिदैन भन्न सकिँदैन ।
नेपालमा पनि पर्यटक संख्या बढाउनु छ भन्दैमा स्वास्थ्यसँग खेलवाड गर्न सकिने कुरा पनि हुँदैन । संयमतापूर्वक समस्याको सामना गर्दै राम्रो बेला पर्खनु र आफ्ना अभियानलाई जोडदार रूपमा अघि बढाउनु हाम्रा लागि नितान्त आवश्यक छ । पर्यटन भ्रमण वर्ष २०२० नभए २१ मनाऔँला, २२ मनाऔँला । तर स्वास्थ्य प्रति सजग र सचेत बन्दै हामीले सनवधानी अपनाउन जरुरी छ। चीनले नै नेपालको भ्रमण वर्षलाई सार्थक तुल्याउन अनुकुल समयमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाईसकेको छ ।