९ साउन, एजेन्सी । भारतमा कोरोना संक्रमणको अवस्था दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४९ हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा एकैदिनमा धेरै व्यक्तिमा संक्रमण देखिएको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख ८७ हजार ९ सय ४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट थप ७ सय ४० जनाको मृत्यु भएको छ । योसंगै अहिलेसम्म मृत्यु हुनेको संख्या ३० हजार ६ सय १ पुगेको छ ।
भारतमा कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या तीन लाख ४७ हजार ५ सय २ पुगेको छ ।
त्यस्तै कोरोनाबाट अहिलेसम्म १२ हजार ८ सय ५४ को मृत्यु भएको छ भने अहिलेसम्म एक लाख ९४ हजारभन्दा बढी निको भएका छन् । त्यस्तै तमिलनाडुमा एक लाख ९२ हजारभन्दा बढी संक्रमित भएका छन् भने तीन हजार २ सय ३२ जनाको मृत्यु भएको छ ।
तमिलनाडुमा एक लाख ३६ हजारभन्दा बढी निको भएका छन् । त्यस्तै राजधानी दिल्लीमा एक लाख २७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
दिल्लीमा कोरोना संक्रमणबाट तीन हजार ७ सय ४५ जनाको मृत्यु भएको छ । दिल्लीमा संक्रमण पुष्टि भएकामध्ये एक लाख ९ हजारभन्दा बढी निको भएका छन् ।