२८ साउन, वीरगन्ज ।
नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले विरोध जनाउनका लागि सांकेतिक राजीनामा दिएका छन् ।
काम गर्ने वातावरण नभएको भन्दै उनीहरुले आफ्नो रोष प्रकट गर्न सामूहिक रुपमा नै सांकेतिक राजीनामा दिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताएका छन् ।
७ वटा अस्पताल चहार्दाचहार्दै पनि उपचार नपाएर मृत्यु भएकी वीरगन्ज महानगरपालिका–२ छपकैया निवासी विष्णु लामाका आफन्त र स्थानीयले गत आइतबार विरोध प्रदर्शन गरेका थिए । उनीहरुले नारायणी अस्पताल परिसरमा रहेको कोरोना बुथ र एकजना चिकित्सकको निजी कारमा तोडफोड गरेका थिए ।
तोडफोडमा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ । पछिल्लो ६ दिनयता वीरगन्जमा उपचार नपाएर ४ जनाको मृत्यु भएको छ । त्यही दिन साँझ चिकित्सक र स्वास्थ्यकर्मीले मेसुलाई काम गर्न सक्ने अवस्था नभएको भन्दै राजीनामा बुझाएका थिए ।
मेसुले उक्त राजीनामा साउन २५ गते नै प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए । ‘सुरक्षा व्यवस्था कडा पार्नका लागि सांकेतिक राजीनामा हो,’ मेसु उपाध्यायले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मी काममै छन् ।’ यसैबीच अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष सन्तोष सिंहले सुरक्षाको उचित व्यवस्था मिलाउन दबाब सिर्जना गरिएको बताए ।
‘काम नगर्नका लागि सामूहिक राजीनामा दिएको हैन्,’ उनले भने, ‘अस्पतालमा काम गर्ने कर्मचारीहरुलाई सुरक्षाको उचित व्यवस्था मिलाउन र अन्य आवश्यक विषयमा दबाब दिन त्यो सांकेतिक विरोध हो । तर, कर्मचारीहरुले हालको परिस्थतीलाई मध्यनजर गर्दै वास्तविक रुपमै राजीनामा दिएको हैन ।’