२२ असाेज, काठमाडौँ ।
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले सामाजिक सञ्जाल फेसबुकको एक्स्प्रेस वाइफाइ परियोजनासँगको सहकार्यमा तीन वर्षमा ३० हजार स्थानमा निःशुल्क वाइफाइ सेवा पुर्याउने घोषणा गरेको छ ।
निःशुल्क वाइफाइको लागि फेसबुकसँगको सहकार्य घोषणा गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै वर्ल्डलिंकका वाइफाइ परियोजनाका प्रबन्धक पुनित मानन्धरले फेसबुकसँगको सहकार्यमा ३० हजार स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने जानकारी गराए ।
वाइफाइ हटस्पट परियोजनाको लागि वर्ल्डलिंकले फेसबुकको वाइफाइ एक्सप्रे परियोजनासँग सहकार्य गरेको बिहीबार जानकारी दिइएको छ ।हाल वर्ल्डलिंकका देशभरका विभिन्न १० हजार स्थानमा निःशुल्क वाइफाई हटस्पट छन् । वर्ल्डलिंकले अहिले रहेको आफ्नो वाइफाइ हटस्पटमा पनि फेसबुकसँग सहकार्य थालेको छ ।
वर्ल्डलिंकले अहिले १० हजार स्थानमा उपलब्ध गराइरहेको निःशुल्क वाइफाइ हटस्पटको व्यवस्थापनको लागि पनि फेसबुकले तयार पारेको सफ्टवेयर प्रयोग सुरु गरेको जनाएकाे छ । नयाँ सफ्टवेयरको प्रयोगका कारण अब प्रयोगकर्ताले एउटा वाइफाइ हटस्पटमा लगइन गरिसकेपछि अर्को हटस्पटमा स्वतः लगइन हुने व्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।
पत्रकार सम्मेलनमा बोल्दै वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले सरकारले फ्रिक्वेन्सी दिए देशभर दैनिक दुई घण्टा निःशुल्क इन्टरनेट दिन सकिने दाबी गरे । उनले भने, ‘इन्टरनेटमा पहुँच नभएका जनसंख्यालाई लाभ पुर्याउन निःशुल्क वाइफाइ परियोजना सुरु गरेका हौं ।’
पत्रकार सम्मेलनमा बोल्दै फेसबुकका प्रतिनिधि अमित सिंहले एक्सप्रेस वाइफाइले उच्च गतिको इन्टरनेटको लागि सहयोग पुग्ने बताए ।