२५ असाेज, काठमाडाैँ ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत प्रा.डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ ।
२७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार डाक्टर केसीले आज बिहान साढे ९ बजे अनशन तोड्दै छन् ।
सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।
यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।
यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।
बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएको थियो । शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।
डा. केसी ६ बुँदे माग राखेर भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो।
स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।