२७ आश्विन, विराटनगर ।
विराटनगरस्थीत कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र विराट शिक्षण अस्पतालमा उपचारारत दुईजना कोरोना संक्रमितको आज विहान मृत्यु भएको छ ।
बूढीगंगा गाउँपालिका ५ का ७१ वर्षीय पुरुषको मंगलबार विहान २ः१५ बजे कोसी कोभिड अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । शनिबार कोरोना पुष्टि भएपछि उनलाई कोसी अस्पताल भर्ना गरिएको थियो ।
उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार वृद्धमा पुरानो दमकको समस्या थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका ३ का ४३ वर्षीय पुरुषको आज बिहान बूढीगंगा गाउँपालिकामा अवस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ ।
अस्पतालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि बेहोस् अवस्थामा ती पुरुषलाई तीन दिनअघि अस्पताल भर्ना गरिएको थियो । पछि स्वाब परीक्षण गर्दा कोरोना देखिएकामा होस नै नखुली उनको मृत्यु भएको बताइएको छ ।