विराटनगर,जेठ १५
हत्याको आरोपमा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलसहित अन्य ८ सय १६ जना कैदीहरुले सजाय माफी पाएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र दिवसका अवसर पारेर राष्ट्रपति विद्यादेवि भण्डारीले कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरुको नेपालको संविधानको धारा २७६ बमोजिम मसजाय माफी दिएकी हुन् ।
यद्यपि, ढुंगेललाई माफी दिन लागिएको भन्दै केही दिनयता विरोध प्रदर्शन भइरहेको छ भने सर्वोच्च अदालतमा रिट समेत परेको थियो भने सोमवार अदालतले ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मगाएको थियो ।
‘ जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत आठ सय सोह्र जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।
द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएको कारागार व्यवस्था विभागले जनाएको छ ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएपछि रिहा भएका ढुंगेलले मानवअधिकारवादी र वकिलले डलरको खेती गरेको आरोप लगाए ।
युद्धका बेला शान्ति र शान्तिमा युद्धको खेती गर्ने ‘डलरवादीहरु’ले आफूलाई जेलमा सडाउने षड्यन्त्र गरेको ढुङ्गेलले आरोप लगाए ।
यसभन्दा अघि ढुंगेल संविधानसभाका सदस्य थिए । उनी द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए ।
एकीकृत पार्टीको सरकारले ढुंगेललाई आम माफीका लागि सिफारिस गरेको थियो ।