हस्तलिखित नागरिकता नष्ट गरेपछि !

हस्तलिखित नागरिकता नष्ट गरेपछि  !

पर्वत, जेठ १७
जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका प्रमाणहरु नष्ट गरेको छ ।

कार्यालयले बुधबार प्राङगणभित्रै १७ हजार ९५३ वटा नागरिकताका पुराना प्रमाण नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय, पर्वतबाट २०६९ साउन महिनाबाट सिम्स सफ्टवेयर प्रयोग गरी कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण गर्न शुरु गरेपछि अहिले उक्त फाइल रेकर्ड नष्ट गरिएको हो ।

गत वर्षसम्म जिल्लाको दुर्गममा आयोजना गरिने घुम्ती शिविरमा ती हस्तलिखित नागरिकता कार्ड प्रयोजनमा ल्याइएको भए पनि अहिले घुम्ती शिविरमा समेत कम्प्युटर प्रणालीबाट नागरिकता वितरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

सोसँगै जिल्ला प्रशासन कार्यालय, पर्वतले कार्यालयको स्टोरमा थन्किएका पुराना कागजातसमेत नष्ट गरेको छ । स्टोर शाखा प्रमुख नारायण अधिकारीका अनुसार पुनःप्रयोगमा ल्याउन नसकिने छापहरु तथा २०५० देखि ०६५ सालसम्मका चलानी रजिष्ट्रारसमेत नष्ट गरिएको बताए ।

प्रविधिको विकाससँगै हस्तलिखित कागजात नष्ट गरिने भएको छ । अहिले गाउँगाउँमा सञ्चालन हुने घुम्ती शिविरमा समेत कम्प्यूटरकै प्रयोग हुने गरेको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले विकट गाउँका बासिन्दालाई गाउँमै सेवा दिने उद्देश्यले शुक्रबार र शनिबार महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा नागरिकता वितरण घुम्ती शिविर आयोजना गरेको जानकारी दिएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.