काठमाडौँका उनन्चालीस बालबालिकाको उद्धार

काठमाडौँका उनन्चालीस बालबालिकाको उद्धार

काठमाडौँ, जेठ १७
महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ ।

परिसरअन्तर्गत रहेका वृत्त र प्रभागको टोलीले माइती नेपाल र सिबिन नेपालको सहकार्यमा गोँगबु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजु लगायतका होटल र डान्स रेष्टुरेन्टहरुमा नाबालक केटीलाई जबर्जस्ती काम लगाउने गरेको सूचनाका आधारमा बुधबार राति छापा मारेर बालिकाको उद्धार गरेको हो ।

जसमध्ये ठमेलबाट तीन, कोटेश्वरबाट दुई, बालाजुबाट ११, गोँगबुबाट १४ र वानेश्वरबाट नौ जनालाई नियन्त्रणमा लिएको हो । उद्धार गरेकामध्ये ३२ जनालाई माइती नेपाल र सात जनालाई सिबिन नेपाल पठाएको छ ।

प्रहरीले नाबालकलाई काममा लगाउने बेबो डान्स रेष्टुरेन्ट ठमेलका सञ्चालक दावा लामा, रिभर साइड डान्स रेष्टुरेन्ट गोँगबुका सञ्चालक शेरबहादुर तामाङ, रक डान्सबार गोँगबुका सञ्चालक विजयसिंह लामा, सिभिला डान्स रेष्टुरेन्ट गोँगबुका मेनेजर अष्ट तामाङ, डेबिट फल डान्स रेष्टुरेन्ट गोँगबुका मेनेजर शिशिर राई, स्टेज डान्स बार गोँगबुका सञ्चालक दयाराम टटाला, टाइगर टप रेस्टुरेन्ट नयाँबानेश्वरका सञ्चालक सुमन श्रेष्ठ र न्यू टाउन रेष्टुरेन्ट नयाँबानेश्वरका सञ्चालक विपिन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले नाबालक केटाकेटीलाई जबर्जस्ती काम लगाउने, शारीरिक एवम् मानसिक दुव्र्यवहार गर्ने, पारिश्रमिक नदिने, कुटपिट तथा डरत्रास देखाउने गरेको बताए । पक्राउ परेका होटल तथा डान्स बार सञ्चालकलाई सार्वजनिक मुद्दा चलाउने तयारी भइरहेको उनले जानकारी दिए।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.