विराटनगर,जेठ २२
विराटनगरको एक निजी अस्पतालले उपचार गरे बापतको पैसा नतिरेको भन्दै एक जना बिरामीलाई दुई महिना भन्दा बढी समयदेखि बन्धक बनाएर राखेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ का ५४ वर्षीय कूलबहादुर लिम्बूलाई विराटनगरको गोल्डेन अस्पतालले बन्धक बनाएर राखिरहेको हो ।
बिरामीका आफन्तले अस्पतालले बन्धक बनाएर राखिरहेको भन्दै सहयोगका लागि विभिन्न सामाजिक संघ संस्थासंग हारगुहार गर्न थालेपछि घटनाको रहस्य खुलेको हो । गत फागुन २६ गते घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका लिम्बूको टाउकोमा चोट लागेको थियो । छोरा सुरेनका अनुसार लडेर घाइते भएपछि उपचारका लागि फागुन २७ गते गोल्डेनमा ल्याइएको थियो ।
उपचार ठीक भए पनि परिवारका सदस्यले लामो समयदेखि कूलबहादुरलाई घर लैजान पाइरहेका छैनन् । गोल्डेनमा भर्ना गरेपछि चिकित्सकले मस्तिष्कमा रगत जमेका कारण तत्काल शल्यक्रिया गर्नु पर्ने सुझाव दिएको सुरेनले बताए ।
शल्यक्रिया गर्नु पर्ने भन्दै अस्पतालले एक लाख १० हजार रुपैयाँ जम्मा गर्न भनेको थियो । उक्त रकम जम्मा गरिदिएपछि त्यही दिन राति कूलबहादुरको शल्यक्रिया भएको थियो । शल्यक्रिया गरेर आईसियूमा राखिएका कूलबहादुरलाई त्यसको एक सातापछि जनरल वार्डको २५ नम्बर बेडमा सारिएको र त्यसको अर्को सातापछि नै ठीक भएको भन्दै अस्पतालले घर जान सल्लाह दिएर डिस्चार्ज गरिदिएको सुरेनको भनाइ छ ।
लिम्बू परिवारले सुरुमा जम्मा गरेको एक लाख १० हजार रुपैयाँ बाहेक उपचारमा सरकारले दिएको सहुलियत बापतको एक लाख रुपैयाँ पनि अस्पतालले पाउने छ ।
अस्पतालले लिम्बू परिवारलाई दिएको जानकारी अनुसार परिवारले जम्मा गरेको एक लाख १० हजार र सरकारबाट सहुलियत पाएको एक लाख बाहेक नै कूलबहादुरको उपचार गरे बापत अझै दुई लाख रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
सुरेनले पैसा नतिरे सम्म घर जान नपाउने भन्दै दुई महिना भन्दा बढी समयदेखि बुवालाई अस्पतालको तल्लो तलामा पनि झर्न नदिइकन बन्धक बनाइएको गुनासो गरे ।
बन्धक बनाइएका बिरामीका बारेमा बुझ्न सोमबार अस्पतालमै पुगेका उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुँगेलले अस्पतालले बिरामीलाई बन्धक बनाएर पैसा असुल्ने योजना बनाएको बताए ।