एशिया प्रशान्त क्षेत्रीय बालविकास सम्मेलन शुरु

एशिया प्रशान्त क्षेत्रीय बालविकास सम्मेलन शुरु

काठमाडौँ, जेठ २२
प्रधानमन्त्री केपी शर्मा ओलीले एशिया प्रशान्त क्षेत्रीय बालविकास सञ्जाल तथा प्रारम्भिक बाल हेरचाह र शिक्षा नीति मञ्चको संयुक्त अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानले बालअधिकारलाई मौलिक हकका रुपमा राखेकाले उनीहरुको हेरचाह, विकास र स्वास्थ्यका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने जानकारी दिए।

उनले गत महीना भएको विद्यार्थी भर्ना अभियानबाट विद्यालय जाने उमेरका करीब ९० हजार बालबालिका विद्यालयको पहुँचमा आएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा दिएर विद्यालयमा टिकाइराख्नु सरकारको उच्च प्राथमिकता भएको बताए ।

उनले प्रारम्भिक बालविकासका सरोकार भएकाबीच प्रारम्भिक बालविकाससम्बन्धी अभ्यासको समीक्षा गर्ने, प्रारम्भिक बालविकासको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल तथा सम्बन्धलाई सबल बनाउने र प्रारम्भिक बालविकास क्षेत्रमा भएका प्रगति र अभ्यासलाई प्रस्तुत गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा मुख्यतः अन्तर्राष्ट्रियस्तरमा भएका प्रारम्भिक बालविकासमा नयाँ अनुसन्धान तथा प्रयोगबारे ज्ञान आदानप्रदान तथा प्रारम्भिक बाल शिक्षा तथा विकाससम्बन्धी विद्यमान नीति बारे छलफल गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए ।

शिक्षा मन्त्रालयको आयोजनामा आजदेखि शुरु भएको सम्मेलन यही जेठ २४ गतेसम्म चल्नेछ । सो क्षेत्रका मुलुकका विभिन्न शिक्षा तथा स्वास्थ्यमन्त्री एवं सचिव र विज्ञको सहभागिता रहेको सम्मेलनमा एशिया तथा प्रशान्त क्षेत्रका ४० भन्दा बढी मुलुकका ३२५ जनाको सहभागिता छ । सम्मेलनमा नेपालबाट प्रारम्भिक बालविकाससँग सम्बन्धित नीतिनिर्माता, सरकारी तथा गैरसरकारी संघ तथा संस्थाका गरी २१५ जनाको सहभागिता छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.