८ चैत्र, एजेन्सी ।
कोरोना भाइरसको संक्रमण पुनः तीव्र गतिमा बढ्न थालेपछि भारतको मुम्बई शहरका भिडभाडयुक्त क्षेत्रमा अनिवार्य रुपमा परीक्षण गर्नु पर्ने नियम लागु भएको छ ।
स्थानीय सरकारले सपिङ्ग सेन्टर, रेलवे स्टेशनसहितका भिडभाड हुने स्थानमा तीव्र गतिमा परीक्षण गरिने बताएको छ । परीक्षणका लागि अस्वीकार गर्नेलाई कारवाही गरिने स्थानीय सरकारले जनाएको छ ।
भारतमा शनिबार एकै दिन ४३ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो चार महिना यता यो एकै दिन पुष्टि भएको धेरै संक्रमित संख्या हो ।
भारतमा अहिलेसम्म कोभिड–१९ बाट एक लाख ५९ हजार मानिसको ज्यान गएको छ । अहिलेसम्म एक करोड १५ लाख भारतीय संक्रमित भएका छन् ।
पछिल्लो पटक महाराष्ट्रका मुम्बई कोरोना भाइरसको हटस्पट बनेको छ । शनिबार एकै दिन त्यहाँ २९ सय ८२ जनामा संक्रमण पुष्टि भयो ।