कांग्रेस महाधिवेशन : भदौमै गरौं, होइन मंसिरमा

कांग्रेस महाधिवेशन : भदौमै गरौं, होइन मंसिरमा

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्। कोरोना भाइरस संक्रमणको खतराका साथै क्रियाशील सदस्यता छानबिनसहितको काम बाँकी रहेकाले तिहारअघि महाधिवेशन सम्भव नरहेको उनीहरूको तर्क छ।

केन्द्रीय समितिको जारी बैठकमा शुक्रबार मीनबहादुर विश्वकर्मा, श्यामकुमार घिमिरे, बहादुर सिंह लामासहितका संस्थापन पक्षीय नेताले महाधिवेशन भदौमा सम्भव नरहेको जिकिर गरे। उनीहरूले महाधिवेशन मंसिरमा गर्न प्रस्ताव राख्दै कात्तिकमा तल्लो तहको अधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। ‘भदौमा अब महाधिवेशन सम्भव छैन। रणनीतिको कुरा होइन, व्यावहारिक कुरा गरौं,’ केन्द्रीय सदस्य घिमिरेले बैठकमा भने, ‘कात्तिकमा अधिवेशन सुरु गरेर मंसिरमा महाधिवेशन सकौ।’

कानुनी उपचारबाटै महाधिवेशन सार्न सकिने तर्क गर्दै अर्का केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘अहिले कोरोना महामारी छ। यस्तो बेला सर्वोच्च अदालतबाट कांग्रेसको महाधिवेशन सार्न सकिन्छ।’ बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समितिले क्रियाशील सदस्यता र निर्वाचन निर्देशिका टुंगो लागेको ७६ दिनपछि मात्र महाधिवेशन गर्न सकिने प्रस्ताव पठाएको सुनाएका थिए।

संस्थापन इतरका केन्द्रीय सदस्य भने भदौमा महाधिवेशन सम्भव रहेको भन्दै सभापति शेरबहादुर देउवाप्रति आक्रामकरुपमा प्रस्तुत भएका छन्। केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, रामशरण महत, बलबहादुर केसी, शेखर कोइराला, बद्री पाण्डे, रामकृष्ण यादवसहितले प्रक्रिया छोट्याएर भदौमै महाधिवेशन गर्न सकिने धारणा राखेका हुन् । सभापति देउवा र संस्थापन पक्षका कारण पार्टी संवैधानिक संकटमा फस्न लागेको आरोप लगाउँदै उनीहरूले असन्तुष्टि जनाए।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.