११ भदौ, काठमाडौँ ।
आर्थिक वर्ष २०७७–७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६ दशमलव ८ प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैंकले तयार गरेको गत आवको तथ्यांकअनुसार आयात २८ दशमलव ७ प्रतिशतले र निर्यात ४४ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १५ दशमलव ६ प्रतिशतले घटेको थियो भने निर्यात शून्य दशमलव ६ प्रतिशतले बढेको थियो ।
यसैगरी, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९ दशमलव ८ प्रतिशत र अमेरिकी डलरमा ८ दशमलव २ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकका अनुसार शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ सय ८२ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।
त्यस्तै कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० दशमलव २ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको ठम्याइ छ । गत आवमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २१ दशमलव ४ प्रतिशतले र निजी क्षेत्रमाथिको दाबी २६ दशमलव ४ प्रतिशतले बढेको छ ।

