काठमाडौँ: नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । यही भदौ १८ गते गाउँपालिका तथा नगरपालिकाको वडास्तरको अधिवेशन सुरु गर्न पार्टीले क्रियाशील सदस्यताको छिनोफानो भएका जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको हो ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक कानुनविद् महादेव यादवले जिल्ला निर्वाचन अधिकृतहरू खटिएको जिल्लामा जाने क्रम सुरु भएको जानकारी दिनुभयो । पहिलो चरणमा हिमाली र पहाडी जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ । हिमाली र दुर्गम जिल्लामा पुग्न केही दिन लाग्ने भएकाले पहिलो चरणमा निर्वाचन अधिकृत खटाइएको उहाँले बताउनुभयो । निर्वाचन अधिकृतलाई क्रियाशील सदस्यताको नामावली, निर्वाचन निर्देशिका लगायतका निर्वाचनसँग सम्बद्ध सामग्री पठाइएको छ । काठमाडौँ आसपासका जिल्ला र सुगम जिल्लामा भने एक दुई दिनमा प्रतिनिधि खटाइने भएको छ ।
क्रियाशील सदस्यताको छिनोफानो भएपछि बाँकी जिल्लामा पनि प्रतिनिधि खटाइने जानकारी काँग्रेसले दिएको छ । पार्टीले क्रियाशील सदस्यतालाई अन्तिम रूप दिन समय लागे पनि छिनोफानो भएका जिल्लामा भने निर्वाचन प्रक्रिया सुरु गर्न निर्वाचन अधिकृत खटाइएको हो ।
सबै जिल्लामा भदौ १८ गते एकै चरणमा वडास्तरको अधिवेशन गरिने भए पनि प्रतिनिधि भने विभिन्न चरणमा खटाउनुपर्ने अवस्था रहेको जनाइएको छ । अब निर्धारित मितिमै पार्टीको महाधिवेशन गर्ने नै आफूहरूको उद्देश्य रहेको निर्वाचन समितिका संयोजक यादवले बताउनुभयो ।
यसैबीच, पार्टीको निर्वाचन समितिले विभिन्न ४८ जिल्लाका क्रियाशील सदस्यताको विवरण बेवसाइटमा सार्वजनिक गरिएको जनाएको छ । निर्वाचन समितिका संयोजक यादवले हालसम्म क्रियाशीलको टुङ्गो लागेका ४८ जिल्लाका कायम रहेका सदस्यहरूको नामावली सार्वजनिक गरिएको जानकारी दिनुभयो । अब २९ जिल्लामा क्रियाशील सदस्यताको टुङ्गो लाग्न बाँकी छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।