१७ भदौ, एजेन्सी ।
अमेरिकाको न्युयोर्क शहर अविरल वर्षाका कारण डुबान भएको छ । शहरमा बाढी आएसँगै आपतकाल घोषणा गरिएको छ । न्युयोर्कमा अहिलेसम्मकै सबैभन्दा ठूलो पानी परेपछि बाढी आएको हो ।
अविरल वर्षाका कारण न्युयोर्कको अधिकांश सबवे बन्द भएका छन् भने धेरै रेल सेवा र हवाई उडान पनि रद्द भएका छन् । बाढीका कारण न्युयाेर्कमा अहिलेसम्म कम्तीमा ८ जनाकाे मृत्यु भएकाे जनाइएकाे छ र
अहिले शहरले ऐतिहासिक मौसमी घटनाको सामना गरिरहेको न्युयोर्कका मेयर बिल डे ब्लासिओले बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पाेस्ट गरेका भिडियाेमा न्युयोर्कका सबस्टेसन, मानिसको घरमा बाढी पसेको देख्न सकिन्छ भने सडकहरु पनि जलमग्न भएका छन् ।
त्यस्तै न्युजर्सीमा पनि आपतकाल घोषणा गरिएको छ । न्युजर्सीमा बाढीका कारण कम्तीमा एक जनाको मृत्यु भएसँगै आपतकाल घोषणा गरिएको हो ।
हुरिकेन समुद्री आँधीका कारण न्युयोर्क, न्युजर्सीलगायतका क्षेत्रमा भारी वर्षा भएको हो । आइतबार सोही आँधीका कारण लोउसियानाका हजारौं घरमा बिजुली अवरुद्ध भएको थियो । अझै पनि धेरै घरमा विद्युत अवरुद्ध नै रहेकाे जनाइएकाे छ ।
यस्तै न्यु ओर्लियन्समा अहिले रात्रीकालीन कर्फ्यु लगाइएको छ । मौसमविद्हरुले अझै धेरै वर्षा हुन सक्ने चेतावनी दिएका छन् ।