२१ भदौ, विराटनगर ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा राजनीतिक दलका कार्यकर्ताले तोडफोड गरेको छ । काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै नेकपा एमाले, राप्रपा र संघीय लिम्बुवानका नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गर्दै उपकुलपतिको कार्यालयमा तोडफोड गरेका हुन् ।
ओपिडी सेवा समेत अवरुद्ध गरेर बिरामीहरुलाई दुःख दिएको भन्दै ताला फोड्न बाध्य भएको नेकपा एमाले धरान अध्यक्ष हर्क एभेङले जानकारी दिए । उनले अन्य कार्यमा आन्दोलनरत पक्षलाई सहयोग गरे पनि बिरामीको स्वास्थ्यमा खेलवाड गरेकाले प्रतिकारमा उत्रिएको बताए ।
बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आइतबारदेखि चिकित्सकहरुले आकस्मिक बाहेकका काम छाडेका छन् । सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी आन्दोलनमा बसेका हुन् ।
आन्दोलनरत चिकित्सकहरुले लगाएको ताला प्रदर्शनकारीले फोडेका थिए । सोमबार दिउँसो केही समय प्रदर्शन भएपछि अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले बताए ।