काठमाण्डौँ,असार ३०
क्यानडामा आयोजित ग्लोबल टी–ट्वान्टी त्रिकेट खेल्न त्यसतर्फ गएका क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्कीएका छन् । गत असार १५ गते मोन्ट्रियल टाइगर्सबाट खेल्न क्यानडा गएका लामिछाने शनिबार बिहान त्रिभुवन विमानस्थल हुँदै स्वदेश फर्केका हुन् ।
जुलाई १७ मा फर्किने कार्यक्रम तय भए पनि उनी ३ दिनअगावै फर्केका छन् । अरुबेला सन्दीप स्वदेश तथा विदेश आउँदा जाँदा भीड हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शनिबार भने त्यस्तो देखिएन ।
अघिपछि सञ्चारकर्मीको क्यामेरा तथा प्रश्नको निगरानीमा हुने सन्दीपले शनिबार त्यस्तो केही सामना गर्नु परेन । यो दृश्यले सन्दीपसमेत केहीबेर अल्मलिए ।
ग्लोबल टी–ट्वान्टीमा मोन्ट्रियल टाइगर्सबाट खेलेका उनले उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले क्यानडामा ५ ओटा खेलमा जम्मा २० ओभर बलिङ गर्दै २ मेडन ओभर राखेर ८ विकेट लिएका थिए । सन्दीपको उत्कृष्ट प्रदर्शन रहेपनि उनको टिम अघिल्लो चरणमा प्रवेश गर्न भने असफल भयो ।