‘मेरा पिक’ हिमालको सफलतापूर्वक अध्ययन आरोहण

‘मेरा पिक’ हिमालको सफलतापूर्वक अध्ययन आरोहण

२५ असोज, काठमाडौं ।

बाह्र विद्यार्थीसहित १८ जनाको टोलीले सोलुखुम्बुमा पर्ने ‘मेरा पिक’ हिमालको सफलतापूर्वक अध्ययन आरोहण गरेका छन्। नेपाल माउन्टेन एकेडेमी प्रथम व्याजका १८ विद्यार्थीले उक्त हिमालको अध्ययन आरोहण गरेका हुन्।

अध्ययन आरोहणका व्यवस्थापक रिफ्युज मेरा लजका सञ्चालक जाङ्बु शेर्पाका अनुसार असोज १ गते काठमाडौंबाट उक्त टोली सडकमार्ग हुँदै मेरा पिकतर्फ हिँडेको थियो।

एकेडेमीका १५ विद्यार्थीसहित २१ जनाको टोली अध्ययन आरोहणमा निस्किएको भए पनि तीन जना भने चुचुरोमुनिबाट फिर्ता भएको बताइएको छ।

पाँच हजार ८०० मिटर उचाइको हाइक्याम्पबाट शुक्रबार बिहान ३ बजे आरोहण सुरु गरेको अध्ययन आरोहण टोली ९ः४८ मा चुचुरोमा पुगेको थियो। अठार जना चुचुरो पुग्नेमा १२ विद्यार्थी र छ शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रका व्यक्ति रहेको शेर्पाले जानकारी दिए।

आरोही १२ विद्यार्थीमा सौरव नेपाल, अनिश दाहाल, सञ्जय भट्ट, प्रान्जल पोखरेल, अनुप्रस्त पौडेल, पासाङ नुरु शेर्पा, प्रशान्त राउत, निरेन महर्जन, डोल्मा लामा, अशोक नेपाल, सुशान्त ढुङ्गेल र पोशन शाही छन् । यस्तै एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, निर्देशक उत्तम भट्टराई, सञ्चालन समिति सदस्य तथा गाइड छिरिङ जाङ्बु शेर्पा, माउन्टेन गाइड हरेराम खड्का, लाक्पा शेर्पा र अक्याडेमिक सुपरभाइजर डा। वसन्त पौडेल रहेका छन्।

छ हजार ४७० मिटर उचाइको मेरा पिक मकालु बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत सोलुखुम्बुको महाकुलुङ गाँउपालिका–१ मा पर्छ । नेपालको सबैभन्दा अग्लो ट्रेकिङ पिक मेरा पिकको आधार शिविर चार हजार ९०० मिटर उचाइमा रहेको छ।

विसं २०५९ जेठ १६ मा नेपाल सरकारको निर्णयानुसार राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल माउन्टेन एकेडेमी स्थापना भएको हो । यो हिमाल आरोहणसम्बन्धी स्नातक कोर्स बिएमएस सञ्चालन गर्ने विश्वको प्रथम एकेडेमीका रूपमा परिचित छ । यहाँ विसं २०७५ कात्तिकबाट कक्षा सञ्चालन भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.