तेह्रौँ शताब्दीको चिनो बेनीकोत पुनःनिर्माण गरिने

तेह्रौँ शताब्दीको चिनो बेनीकोत पुनःनिर्माण गरिने

३० असोज, म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–८ स्थित सात सय वर्ष पुरानो ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ ।

तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न व्यवस्थापन र संरक्षणको काम सुरु गरेको हो ।

नगर कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष रामकृष्ण बराइलीले चालु आर्थिक वर्षमा दुई शीर्षकमा विनियोजन गरिएको रु १३ लाखबाट कोतघर पुनःनिर्माण र व्यवस्थापनको काम थालिएको बताए ।

“रु पाँच लाखबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई व्यवस्थित र संरक्षण गर्न पूर्वाधार निर्माण भएको छ”, उनले भने “अर्को शीर्षकमा विनियोजन भएको रु आठ लाखबाट कोतघर पुनःनिर्माण गर्न लागेका छौँ ।”

कोतघर संरक्षण तथा व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा इँटा राख्ने काम सकिएको बताए । यसअघि उपयोगविहीन रहेको सो जग्गामा अहिले बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ ।

साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी हुने देखिएको छ । विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालिन राजधानी बेनी थियो ।

प्राध्यापक कर्णबहादुर बानियाद्वारा लिखित ‘म्याग्दीको इतिहास, संस्कृति र सम्पदा’ नामको पुस्तकमा पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेको उल्लेख छ ।

ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायत हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने (टक्सार) बनाएका थिए ।

पौराणिक महत्व, मौलिकता र इतिहास ननासिने गरी कोतघर पुनःनिर्माण गर्नुपर्ने स्थानीयवासी पदमबहादुर खत्रीले बताए। कोतघरको संरक्षणसँगै त्यहाँ रहेका ऐतिहासिक हातहतियार अवलोकन गर्न मिल्ने गरी पुनःनिर्माण गर्न लागिएको हो ।

कोतघरमा बडादसैँ र चैतेदसैँमा पूजाआजा तथा बलि चढाउने गरिन्छ । यस स्थललाई पुनःनिर्माण र संरक्षण गर्नसके पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन सकिने र म्याग्दी तथा मुस्ताङ घुम्न आउने पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.