धनतेरसमा बिक्यो ६१ करोडको सुनचाँदी

धनतेरसमा बिक्यो ६१ करोडको सुनचाँदी

१७ कात्तिक, काठमाडौँ ।

गहना व्यवसायीका लागि महत्त्वपूर्ण मानिने धनतेरसको दिनमा ६१ करोड रुपैयाँ बराबरको सुनचाँदी बिक्री भएको छ । मंगलबार एकैदिन सुन ५० किलो र २ हजार किलो चाँदी बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने। ‘मंगलबार प्रतितोला सुनको मूल्य ९२ हजार रुपैयाँ थियो । उक्त रेटको आधारमा एक किलो सुनको मूल्य करिब ८० लाख रुपैयाँ हुन्छ । ५० किलो सुनको करिब ४० करोड रुपैयाँ पर्छ । बिक्री सोचजस्तो राम्रो भयो ।’

महासंघले मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकेको थियो । उक्त रेट अनुसार एककिलो चाँदीको मूल्य १ लाख ७ हजार रुपैयाँ पर्छ । ‘२ हजार किलोको हिसाबले करिब २१ करोड ४० लाख रुपैयाँको बिक्री भएको देखिन्छ,’ उनले भने ।

धनतेरसमा सुनभन्दा चाँदीको सिक्का बढी बिक्री हुन्छ । चाँदीको भाँडा, करुवा, प्लेटदेखि माना/पाथी बिक्री हुन्छ । कलस, कचौरा, दिया सबै प्रकारको माग बढ्ने व्यवसायीहरुकाे भनाइ छ ।

धनतेरसका लागि सानो सिक्का भए पनि किन्ने र लक्ष्मीपूजाको दिन पूजा गर्ने प्रचलन छ । महासंघका अनुसार सुनचाँदीको बिक्री लक्ष्मीपूजाको दिनसम्म हुन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.