१९ पुस, एजेन्सी ।
सेनाले कुमार्फत सत्ता कब्जा गरेको करिब २ महिनापछि सुडानका प्रधानमन्त्री अब्दुल्लाह हमदोकले राजीनामा दिएका छन् ।
सेनासँग विवादास्पद सम्झौता गरेपछि पुनः प्रधानमन्त्रीमा बहाल हमदोकले व्यापक विरोध प्रदर्शनपछि राजीनामा दिएका हुन् । गत अक्टोबरमा सुडानको सेनाले कुमार्फत सत्ता कब्जा गरेको थियो ।
तर हमदोकले सत्ता साझेदारीको विवादास्पद सम्झौता गरेपछि उनलाई सेनाले पुनः प्रधानमन्त्रीमा बहाली गरेको थियो । उक्त सम्झौतामा अर्को चुनाव नहुँदासम्मको संक्रमणकाल समयसम्म हमदोकलाई प्रधानमन्त्री बनाउने उल्लेख भएको बताइन्छ ।
उक्त सम्झौता र सेनाको हस्तक्षेपको विरोधमा प्रजातन्त्रपक्षधरहरूले देशभर व्यापक प्रदर्शन गरेका थिए । उनीहरूले मुलुकमा नागरिक शासन लागू हुनुपर्ने माग गर्दै आएका छन् । हमदोकले राजीनामा दिए पनि सुडानमा प्रदर्शन भने रोकिएको छैन ।
प्रधानमन्त्री कार्यालयको आधिकारिक युट्युब च्यानलमा आइतबार पोस्ट गरिएको भिडियोमा हमदोकले मुलुकको अस्तित्व नै संकटमा पर्ने खतरा रहेकाले आफूले राजीनामा दिएको बताएका छन् । उनले मुलुकलाई बर्बादीतर्फ जान नदिन उक्त कदम लिएको पनि बताएका छन् ।
उनले देशलाई बचाउन सेनासँग सहमति गरे पनि आफ्नो प्रयास असफल भएको बताएका छन् । उनले भनेका छन्, मैले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेको छु । अरु कोही महिला वा पुरुषलाई यो देश चलाउने मौका दिँदैछु । सत्ता हस्तान्तरणका लागि मलाई सहयोग गर्नुहोस्।
यस बीचमा भएको प्रदर्शनमा सेनाको गोली लागेर कम्तीमा पनि ५७ जनाको मृत्यु भएको छ । सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँगै सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका बीचमा खटपट सुरु भएको थियो ।