१० चैत, काठमाडौँ । काठमाडौँको जोरपाटी–साँखु सडकखण्ड कालोपत्रे गर्न माग गर्दै थलीका स्थानीयले सडक अवरुद्ध पारेका छन् ।
थलीको मिलनचोकमा भेला भएर स्थानीय बासिन्दाले बिहानैदेखि सडक बन्द गराएका हुन् । सडक मर्मत नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले बताएका छन् । यसअघि पनि उनीहरुले आन्दोलन गरेका थिए ।
यसैबीच, स्थानीय बासिन्दाको आन्दोलनका कारण ललितपुरको सातदोबाटो–चापागाउँ सडक खण्ड आज पनि प्रभावित भएको छ ।
तीनदिनदेखि अवरुद्ध सडक खण्डमा गाडी डाइभर्सन गरिएको छ । स्थानीयको आन्दोलनका कारण बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द छ ।
यो समयमा सातदोबाटो–चापागाउँ चल्ने गाडीलाई धापाखेल–सुमेरु अस्पताल र सातदोबाटोबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। सडक मर्मत नगरेको भन्दै स्थानीय बासिन्दाले अस्ति मङ्गलवारदेखि सडक बन्द गरेका हुन् ।
ठेकेदारले सडक मर्मत नगरेसम्म अवरोध कायमै राख्ने उनीहरुको अडान छ । धुलोले हैरान बनाएको भन्दै स्थानीय बासिन्दाले सडक नै बन्द गरेर विरोध गर्दै आएका छन्।
ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष बाबुराज महर्जनले डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले लामो समयसम्म नबनाएको बताए ।
एक वर्ष अगाडि यो सडक पिच भएको थियो । तर त्यसको तीन महिनामै भत्किएपछि समस्या भएको छ ।
गएको मंसिर १६ गते सडक विभाग, ठेकेदार कम्पनी, ललितपुर महानगरपालिका, स्थानीय प्रतिनिधिलगायत सरोकारवालाको बैठक बसेर १८ गतेदेखि काम गर्ने सहमति भएको थियो । तर त्यसपछि पनि ठेकेदार कम्पनीले काम नगरेको वडाअध्यक्ष महर्जन बताउँछन् ।