एजेन्सी, भदौ १
जेनिथ सेन्ट पिटरसबर्गले युरोपा लिगमा उत्कृष्ट पूनरागमन गर्दै डिनामो मिन्स्कमाथि कीर्तिमानी जित निकालेको छ । पहिलो लेगमा ४–० ले पछि परेको पिटर्सवर्गले दोस्रो लेगमा ८–१ को सानदार जित निकाल्दै युरोपा लिगको छनोटको तेस्रो राउन्डमा समग्रमा ८–५ को जित निकाल्दै ३३ वर्ष पुरानो कीर्तिमान तोडेको हो ।
यसअघि ३३ वर्षअघि १९८५ को युइएफए कपमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब बोरुसिय मोन्चेगालबाचसाग ५–१ ले पछि परेको अवस्था उल्ट्याएर दोस्रो चरणमा प्रवेश गरेको थियो । रियल अवे गोलको आधारमा अघि बढेको थियो ।
पहिलो लेगमा चार गोलले पछि परेको अवस्थामा दोस्रो लेगमा उत्रिएको पिटरसबर्गले गोलको वर्षा नै ग¥यो । पहिलो हाफमा १–० गोलले अघि रहेको पिटरसबर्गले दोस्रो हाफ र थप गरिएको अतिरिक्त समयमा ७ गोल गर्न सफल भयो । पिटरसबर्गले खेलको २२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थियो ।
पिटरसबर्गका लागि आर्टिम ज्युबाले ह्याट्रिक गोल गरे । उनले खेलको ७५, ७८ र ११५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै, पिटरसबर्गले ६६ र १०९ औं मिनेटमा गोल गरेको थियो भने थप गरिएको अतिरिक्त समयको अन्तिम समयमा २ गोल गर्न सफल भएको थियो । यता, डिनामोले भने खेलको ९९औं मिनेटमा एक गोल मात्र फर्काउन सफल भएको थियो । जेनिथ ७२ औं मिनेटमा तथा मिन्स्क अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो । जेनिथले अब मोल्डेसँग प्रतिस्पर्धा गर्नेछ ।