Nepal Times
Nepal Times
3
Shares

पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

एजेन्सी, ८ वैशाख । वेष्ट इन्डिज क्रिकेट टोलीका आक्रामक ब्याटर केइरन एड्रियन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास घोषणा गरेका छन् । ३४ वर्षीय पोलार्डले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सको खेलअघि बुधबार सामाजिक सञ्जालमार्फत सन्न्यास घोषणा गरेका हुन् ।

‘धेरै सोचविचारपछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेको छु,’ पोलार्डले भनेका छन् । यस्तै आफ्नोसमेत अन्य युवा जस्तै राष्ट्रिय टोलीबाट खेल्ने सपना भएको र त्यो समेत पूरा भएको पोलार्डले लेखेका छन् ।

‘१० वर्षको हुँदै नै राष्ट्रका लागि खेल्ने सपना थियो । टी-२० र एकदिवसीयमा देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व  गर्छु,’ पोलार्डले लेखेका छन् । पोलार्डको सन्न्याससँगै अब वेष्ट इन्डिजले अर्काे वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकप र भारतमा आयोजना हुने एकदिवसीय क्रिकेटका लागि नयाँ कप्तान खोज्नेछ ।

पछिल्लो १५ वर्षका पोलार्डले वेष्ट इन्डिजका लागि ११३ एकदिवसीय खेलिसकेका छन् । सन् २००७ मा साउथ अफ्रिकाविरुद्ध डेब्यु गरेका पोलार्डले त्यसयता २७०६ रन बनाएका छन् । जसमा तीन शतकसमेत सामेल छ । उनले १०१ टी-२० खेल खेल्दा ५५ विकेट लिएका छन् भने १५६९ रन बनाएका छन् ।

पोलार्डले वेष्ट इन्डिजका लागि हालसम्म टेष्ट क्रिकेट खेलेका छैनन् । तर, उनले देशका लागि टी-२० र एकदिवसीय खेलमा भने क्रान्ति नै ल्याएका छन् । पोलार्ड टेष्ट खेलविना अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सर्वाधिक खेल्ने दोस्रा खेलाडी हुन् । उनले २२४ खेल खेलेका छन् । जुन डेविड मिलरभन्दा कम हो ।

अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिएका पोलार्डले क्लब प्रतियोगितामा भने आफ्नो निरन्तरता दिनेछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.