काठमाडौं, १३ वैशाख । बुटवल उपमहानगरपालिकाका मेयरका आकांक्षी नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईंले वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका चापागाईंले बुटवलको मेयरका लविङ गरे पनि पार्टीलाई भागबण्डा नपरेपछि खुम्चिएका थिए । सोमबार मनोनयन दर्ताको अन्तिम समयमा साँझ साढे ५ बजे उनले बुटवलस्थित निर्वाचन कार्यालयमा बुटवल वडा नम्बर ४ को वडा सदस्यमा उम्मेदवारी दिएका थिए ।
गोप्य रूपमा दिइएको उनको उम्मेदवारीबारे धेरैलाई जानकारी नभए पनि पार्टीका जिल्ला अध्यक्ष राजु गुरुङलगायतका केही नेतालाई मात्र जानकारी थियो । वडा सदस्यमा दिएको उम्मेदवारीबारे सोधिएको प्रश्नमा उनले नयाँ अनुभवका लागि यसो गरिएको बताए । ‘स्थानीय निर्वाचनमा मेरो नयाँ अनुभव हो, धेरै पढेका अनुभव भएका व्यक्तिहरू आफ्नो वडा, टोलको विकासमा ध्यान नदिने परम्परा तोड्न मेरो उम्मेदवारी हो,’ उनले भने ।
लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि गरेका चापागाईं प्रेस चौतारीको पूर्वकेन्द्रीय अध्यक्ष तथा राससका पूर्व कार्यकारी अध्यक्ष हुन् । नेपाली र पत्रकारितामा एमए गरेका उनले वडा सदस्यमा उम्मेदवारी दिएपछि गठबन्धनभित्र र बाहिर थप चर्चामा आएका छन् । नेकपा एसलाई बुटवलको भागबण्डामा उपमेयर परेको थियो । उक्त पदमा पार्टीले चिनबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।