३१ साउन, काठमाण्डौ ।
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पालिका चुनावमा भएको खर्चबारे सूचना उपलब्ध गराइदिन पत्राचार गरेको छ । प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिए पछि त्यसबारे जानकारी गराउन भनिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुशार ‘उहाँले चुनावमा सीमाभन्दा धेरै खर्च गरेको अभिव्यक्ति दिएपछि त्यसबारे सूचना उपलब्ध गराइ सहयोग गरिदिन आयोगले पत्राचार गरेको हो’ । आयोगले केही दिनअघि प्रचण्डलाई पत्र काटेको थियो । चुनावमा खर्च गर्न पाउने सीमा तय भएकाले त्यसभन्दा तलमाथि भए जो कोहीले आयोगलाई जानकारी दिन सक्ने आयोगले जनाएको छ ।
प्रचण्डले गएको ९ गते कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको कार्यक्रममा गाउँपालिकाको चुनावमा १० करोडसम्म खर्च गरेको रिपोर्ट आएको बताएका थिए । निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवारले बढीमा साढे ७ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सीमा तोकेको थियो । महानगर मेयर उपमेयरले बढीमा ७ लाख ५० हजार, उपमहानगर मेयर उपमेयरले बढीमा ५ लाख ५० हजार, नगरपालिकाका मेयर उपमेयरले ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार रुपैयाँ चुनावको प्रचारमा खर्च गर्न पाउने सीमा निर्धारण गरिएको थियो ।
यसअघि स्थानीय तहको निर्वाचनका समयमा नेपाली कांग्रेसका नेता शंशाक कोइरालाले समेत चुनावमा करोडौं रुपैयाँ खर्च गरेको भन्ने अभिब्यक्ति दिएपछि आयोगले कोइरालासँग पनि जवाफ माग गरेको थियो ।