१५ असोज, विराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आम नेपालीहरूको महान चाड बडादशैं–२०७९ को सुखद् अवसरमा प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले नेपाल विविध भाषा धर्म संस्कृतिले धनी देश भएको र सबै जातजाति, समुदायको आ–आफ्ना चाडपर्व मध्ये नेपालीहरूले खुशी र उमङ्गले मनाउने दशैं एउटा ठूलो पर्व रहेको बताएका छन् ।
उनले हाम्रा महत्वपूर्ण पर्वहरूका बीचमै आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेसभाको निर्वाचनमा उल्लासपूर्ण रुपमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न, र संविधान, गणतन्त्र, संघीयताको रक्षा, सुदृढिकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन अपेक्षा र अनुरोध समेत गरेका छन् ।
सन्देशमा हाम्रा जुनसुकै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानका साथ अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको राईले उल्लेख गरेका छन् ।
हाम्रा सांस्कृतिक पर्वहरू आपसी सहिष्णुता र भावनात्मक एकताका प्रतीक हुन् सन्देशमा भनिएको छ । पर्वहरूको मौलिकतालाई कायम राख्दै संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो । पर्वहरू मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै पर्वहरू मनाउनु वाञ्छनीय हुने ठान्दछु ।
मुख्यमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ ।
त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो ।