एजेन्सी, भदौ १२
विश्व फुटबलका महँगा तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियर आफ्नो पूर्व क्लब बार्सिलोना फर्किएका छन् । नेयमार बार्सिलोनाबाट खेल्नका लागि नभई व्यापारिक इभेन्टको लागि अकस्मात बार्सिलोना पुगेका हुन् । यसक्रममा नेयमारले आफ्ना पूर्वसहकर्मी लुइस स्वारेज, इभान राकिटिक, जेरार्ड पिके, मार्क आन्द्रे टेर स्टेगन र राफिन्हासँग भेट गर्दै सामाजिक सन्जाल इन्स्टाग्राममा तस्वीर पोस्ट गरेका छन् ।
स्टेगनसँगको तस्वीरमा नेयमारले ‘तिमीहरु जस्तै मैले पनि मिस गरिरहको छु ।’ भनेर पोस्ट गरेका छन् । नेयमारको नसोचिएको बार्सिलोना भ्रमणले मिडफिल्डर इभान राकिटिकको पीएसजी यात्रा थप सहज भएको बताइएको छ । पीएसजीले राकिटिकलाई अनुबन्ध गर्न चाहिरहेको छ । पीएसजीले राकिटिकलाई ८१ मिलियन पाउन्डमा अनुबन्ध गर्ने प्रयास गरेको छ । स्पेन र फ्रान्समा अक्टोवर महिना भर ट्रान्सफर बजार खुल्ला रहनेछ ।
रियल भालाडोलिडमाथिको १–० को जित निकालेसँगै राकिटिकले बार्सिलोनाको जर्सीमा आफु खुशी रहेको र लामो समयसम्म बार्सिलोनामै रहने बताइसकेका छन् । सन् २०१३ मा ब्राजिलयिन क्लब सान्तोषबाट बार्सिलोना पुगेका २६ वर्षीय नेयमार एक वर्षअघि विश्व कीर्तिमानी २२२ मिलियन पाउन्डमा पिएसजी पुगेका थिए । फ्रेन्च लिग वानमा एन्जर्समाथि ३–१ को सहज जित निकाल्दा नेयमारले एक गोल गर्न सफल भएका थिए ।