२ फागुन,काठमाण्डौ ।
यातायात मजदुर र व्यवसायीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । यातायात मजदुर व्यवसायीका नेताहरूसँग मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तापछि आन्दोलन स्थगित गरिएको हो । मंगलबार बिहान भएको वार्तापछि तत्काल आन्दोलन फिर्ता लिएर कार्यदलमार्फत सहमति गर्न व्यवसायीहरु सहमत भएका हुन् ।
यसअघि यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा बनेको कार्यदलमा मजदुर संघका सदस्यहरु थपिएको छ । वार्ताका क्रममा मन्त्रालयले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि मजदुर संगठनका पदाधिकारीले यस्तो घोषणा गरेका हुन् ।
योसँगै सार्वजनिक सवारीसाधन पुनः सञ्चालनमा आएका छन् । मन्त्रालयका अधिकारीले तत्काल बन्द, हड्ताल रोकी सार्वजनिक यातायात सञ्चालन गर्न आग्रह गरेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले आन्दोलन फिर्ता लिएको बताए।
सोमबार नयाँ बसपार्कमा पक्राउ परेका मजदुरहरूलाई तत्काल फिर्ता गर्ने, मजदुरलाई हातपात गर्ने ल्होत्से कम्पनीका प्रबन्धक सुनिल कुँवर, पंकज मल्ललाई गिरफ्तार गरेर कारबाही गर्ने लगायतका सहमति भएको राईले बताए। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सर्वसाधारणका लागि सडकमा सहजीकरण गरेर वार्ताको निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका थिए ।
मन्त्री श्रेष्ठले जायज मागहरू पूरा गरिने बताएका थिए । यातायात क्षेत्रको समस्यालाई आफूले गम्भीरतापूर्वक लिएको उनको भनाइ छ । यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गरेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको थियो ।
सवारी नियम उल्लंघनबापतको जरिवाना रकम घटाउनुपर्ने र ५ पटकसम्म ट्राफिक कारबाहीमा परे चालक अनुमतिपत्र नै खारेज हुने प्रावधान हटाउन माग गर्दै यातायात क्षेत्रका मजदुरले गरेको आन्दोलन अनियन्त्रित बन्दा नयाँ बसपार्क क्षेत्र सोमबार दिनभर तनावग्रस्त बनेको थियो ।
सार्वजनिक यातायातसम्बद्ध तीन मजदुर संगठनले सोमबारको घटनाको जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय कम्पनीले लिनुपर्ने जनाएका छन् । उनीहरुले ल्होत्सेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । ल्होत्से भवनमा लुटपाट गर्ने यातायात मजदुर नभई ल्होत्सेकै ‘गुन्डा’हरू रहेको व्यवसायीको जिकिर छ ।
व्यवसायीले सोमबारको घटनाबारे निष्पक्ष छानबिन गरी कारबाहीको माग समेत गरेका छन् । सोमबार प्रदर्शनका क्रममा गोंगबु, नयाँ बसपार्क क्षेत्रमा तोडफोड र प्रहरीका गाडीमा आगजनी गरिएको थियो । पछिल्लो समय नयाँ बसपार्क र गोँगबु चोकबीचको सडक विस्तार हुने क्रममा छ ।
सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालन हुँदै आएका छन् । माइक्रोबस र केही बस नयाँ बसपार्क र गोँगबु चोकबीचको सडकबाट सञ्चालन हुँदै आएका छन् । त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी र मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका जनाइएको छ ।