१३ फागुन, एजेन्सी ।
विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले रूसको सदस्यता निलम्बन गरेको छ । समूहले विज्ञप्ति निकालेर रूसीको कदम एफएटीएफको आधारभूत सिद्धान्तको विपरीत रहेको पाइएकाले कारबाही अघि बढाइएको बताएको समाचारसंस्था एएफपीले जनाएको छ ।
युक्रेनमा भइरहेको रूसी आक्रमणलाई लिएर रुसको सदस्यता खारेज भएको हो । पेरिसमा पाँच दिनसम्म चलेको बैठकपछि एफएटीएफले नाइजेरिया र दक्षिण अफ्रिकालाई निगरानी बढाउने देशको सूचीमा समावेश गरेको छ ।
एफएटीएफले २ सयभन्दा बढी देश र क्षेत्राधिकारका लागि मापदण्ड निर्धारण गर्दछ र अधिकारीहरूलाई लागुऔषध तस्करी, मानव तस्करी र आतङ्कवाद जस्तागम्भीर अपराधहरूको सामना गर्न मद्दत गर्छ । रूस युरोपेली परिषदबाट पनि निष्कासित भइसकेको छ भने संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषदबाट निलम्बित भएको छ ।
रुसले युक्रेनमा आक्रमण सुरु गरेको हिजो एक वर्ष पूरा भएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व बैंकको नयाँ प्रमुखमा भारतीय मूलका अमेरिकी नागरिक अजय बंगालाई प्रस्ताव गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले बिहीबार एक विज्ञप्ति जारी गर्दै मास्टरकार्डका पूर्वप्रमुख कार्यकारी अधिकृत बंगालाई विश्व बैंकको नयाँ प्रमुखका रूपमा प्रस्ताव गरिएको जानकारी दिएको छ ।
विश्व बैंकमा अमेरिका सबैभन्दा ठूलो सेयर होल्डर हो । त्यही भएर अमेरिकाले प्रस्ताव गरेको व्यक्ति नै प्रमुख हुने सम्भावना प्रबल हुन्छ । बंगा आगामी मेदेखि विश्व बैंकको प्रमुख बन्ने देखिएको छ । बिबिसी हिन्दीका अनुसार भारतमा जन्मिएका बंगाले दिल्ली विश्वविद्यालयबाट ग्राजुएसन र आइआइएम अहमदावादबाट एमबिए गरेका हुन् ।
उनले नेस्ले इन्डियाबाट आफ्नो करियर सुरू गरेका थिए । सन् २००९ मा मास्टरकार्डमा जोडिएका उनी उक्त कम्पनीका सिइओ बने । ६३ वर्षीय बंगा पछिल्लो समय जनरल एटलान्टिक कम्पनीमा उपप्रमुख थिए ।