१ जेठ, एजेन्सी ।
मोखा चक्रवातका कारण म्यानमार र बंगलादेशमा ठूलो क्षति पुगेको छ । बंगालको खाडीबाट विकसित भएको सो चक्रवातका कारण म्यानमारमा कम्तिमा पाँच जनाको ज्यान गएको छ भने बंगलादेशमा हजारौं घरहरु ध्वस्त भएका छन् ।
तीव्र गतिको आँधीका कारण बंगलादेशको सेन्ट मार्टिन आइल्याण्डका १२ हजार घर र कोक्स बजार भन्ने स्थानमा रहेको रोहिंग्या शरणार्थी शिविरमा पनि करिब त्यति नै संख्यामा घरहरु ध्वस्त भएका बीबीसीले जनाएको छ । सबैभन्दा बढी प्रभावित कोक्स बजार भएको बंगलादेशका अधिकारीहरुले बताएका छन् ।
कोक्स बजारको शरणार्थी शिविरमा करिब १० लाख मानिसहरुको बसोबास छ । आँधी र भारी वर्षाबाट प्रभावितहरुलाई अस्थायी शिविरहरुमा राखिएको छ । बंगलादेश मौसम विज्ञान विभागका अनुसार तुफान बंगलादेशबाट गइसके पनि वर्षा अझै केही दिन जारी रहने छ ।
चक्रवातका कारण ठूलो आँधी र पानी पर्ने पूर्वानुमान सार्वजनिक भएलगत्तै बंगलादेशले ५ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारेको थियो । विभागका अधिकारीहरुले प्रभावित भएकाहरु अब आ–आफ्नो घर जान सक्ने जनाएका छन् । तर आगामी २४ घण्टासम्म समुद्री किनारतर्फ भने नजान अधिकारीहरुले सल्लाह दिएका छन् ।
नेपालमा भने यो चक्रवातको प्रभाव परेन । तर पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण गएको १२ घण्टामा धेरै ठाउँमा वर्षासँगै हावाहुरी चलेको छ । हुरीले पुर्याएको क्षतिको विवरण आएको छैन । तर, कतिपय ठाउँमा जस्ताका टहरा भत्किएका छन् । मौसमविद्का अनुसार गएको १२ घण्टामा पूर्वी क्षेत्रका धेरैजसो ठाउँमा वर्षा भएको छ ।
यस्तै, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि हावाहुरीसहित वर्षा भएको छ । कर्णालीका एक÷दुई ठाउँमा पनि पानी परेको छ । आज दिउँसो पछि पनि मौसम बदली भइ हावाहुरीसहित धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
विशेषगरी आज र भोलि पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो पछि पानी पर्ने सम्भावना छ । तराईका जिल्लामा भने खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । हावाहुरी भने धेरैजसो ठाउँमा लाग्ने अनुमान छ ।