२ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले लिएको रायमाझीको बयान सोमबार राति अबेर सकिएको हो । सरकारी वकिलको कार्यालयका उपन्यायाधीवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौँमा मुद्दा शाखाका डिएसपी निरञ्जन भट्टसहितको टोलीले एमालेका निलम्बित सचिवको बयान लिएको हो।
हिजै जिल्ला अदालत काठमाडौँमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । सोही प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँणको बयान पनि हिजै लिइएको हो । तर उनले स्वास्थ्य अवस्था ठीक छैन भनेपछि बाँकी बयान आज लिइनेछ ।
नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीका आरोपीहरूमध्ये ११ जनासँग जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि नै बयान लिइसकेको छ । यसअघि आइतबार खाँणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिइएको थियो ।
उक्त घटनामा अहिलेसम्म खाँणसहित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पाण्डे र केसीसहित १४ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका दुई आरोपीहरू भने फरार छन् । तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा नीरज र बादलका छोरा प्रतिक हाल सम्पर्कविहीन छन् ।
अन्य केही उच्च अधिकारीहरूका विषयमा भने प्रहरीले प्रमाण जुटाउने प्रयास जारी राखेको बताइन्छ । यसैबीच सोमबार साँझ प्रहरीसमक्ष आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाको टाउकोमा रहस्यमय तरिकाले गम्भीर चोट लागेको पाइएको छ । प्रहरी परिसर काठमाडौंको हिरासतमै रहेका बेला शेर्पाको टाउकोमा गम्भीर चोट देखिएको हो ।
उनलाई ट्रमा सेन्टरमा लगि उपचार गराएर पुनः प्रहरी परिसरमै फर्काइएको प्रहरीले जनाएको छ । हिरासतमा रहेका शेर्पा शौचालयमा लडेपछि टाउकोमा चोट लागेको प्रहरीले बताएको छ । पक्राउ पुर्जी जारी हुनु पहिले नै फरार भएका शेर्पा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।
यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको आरोप शेर्पालाई लागेको छ । खासगरी शेर्पाले बालकृष्ण खाँणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेका थिए । उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणलाई जोगाउन खोजेका थिए ।