५ जेठ, एजेन्सी ।
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज चीन भ्रमणमा गएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय जम्बो टोली १० दिने भ्रमणका लागि आज बिहान चीनको छेन्दु प्रस्थान गरेको हो ।
अनुभव आदानप्रदानका लागि माओवादी टोली चीन गएको भ्रमण दलका सदस्य जीपी मैनालीले बताएका छन् । भ्रमण टोलीमा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन् ।
यसैगरी प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा रहेको मैनालीले बताए । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली पनि चीन भ्रमण गरेर फर्किएको थियो । चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका अरु पार्टीबीच पनि अनुभव आदनप्रदान गर्न नियमित भ्रमण हुँदै आएको छ ।
यो बीचमा कोरोना महामारी भएकाले भ्रमण रोकिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो भ्रमण भारत हुने अडान लिदै अहिलेसम्म कुनैपनि विदेश भ्रमणमा गएका छैनन् । आगामी आर्थिक वर्षको बजेटपछि संभवत प्रचण्ड भारत भ्रमणमा जान सक्ने संभावना छ ।
यद्यपि भारतले अहिलेसम्म भ्रमणको कुनै जानकारी दिएको छैन् । यस्तो अवस्थामा माओवादी उपाध्यक्षसहितको उच्च नेताहरुको भीन भ्रमणलाई थप महत्वका साथ हेरिएको छ ।