८ असार, काठमाण्डौ ।
मौसम पूर्वानुमान महाशााखाले आज पनि देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान गरेको छ । गएको जेठ अन्तिमदेखि मध्य र पूर्वी क्षेत्रमा मात्रै लगातार पानी पर्ने गरेकोमा आज सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
उनका अनुसार पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेको छ । दिउँसोसम्ममा पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्ने अनुमान छ । आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताइन् ।
राति भने धेरै ठाउँमा पानी पर्ने अनुमान छ । राति कोशी, मधेस, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार मनसुन सक्रिय भएको छ । धेरै ठाउँमा मध्यम र केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको छ ।
भिरालो जमिन तथा खोला, नदी आसपासमा रहेकाहरूलाई उच्च सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ । खासगरी रातको समयमा विशेष ख्याल गर्न मौसमविद्को आग्रह छ । देशका केही नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।यस दिन अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान, बाँके, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडी भई बहने केही साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
ती जिल्ला भई बहने नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, अबका तीन दिन देशका अधिकांश प्रमुख तथा मझौला नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । बहाव भने बढ्दो हुने महाशाखाको पूर्वानुमान छ ।