८ भदौ, विराटनगर ।
निजी ब्यक्तिगत जग्गामा प्रवेश गरी बृक्षारोपण गरेपछि विवादमा आएका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईलाई अदालतले व्यक्तिको जग्गामा प्रवेश नगर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्कलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो । रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै साम्पाङविरूद्ध रिट दायर गरेका थिए । धरान ४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले ६ साउनमा वृक्षरोपण गरेका थिए ।
वृक्षरोपण गरेको जग्गा अधिकारी दम्पतीले आफ्नो भएको दाबी गर्दै आएका छन् । मेयर साम्पाङले भने सर्दु सट्टाभर्नाको जग्गा भएकाले वृक्षरोपण गरेको दाबी गरेका छन् । सोमबार मेयर साम्पाङ पुनः त्यही विवादित जग्गामा पुगेका थिए । उनी जाँदा अधिकारी दम्पतीले प्रतिवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । विवादपछि साम्पाङले उल्टै आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रशासनमा उजुरी पनि दिएका छन् ।
उनले पटक पटक आफूमाथि अन्याय भएको भन्दै न्याय पाउनु पर्ने भन्दै सामाजिक संजालमा अभिब्यक्ति दिएपनि अहिले अदालतले उनलाई नै सच्याएको छ । उजुरी परेपछि अधिकारी दम्पती निषेधाज्ञा माग गर्दै उच्च अदालत विराटनगर गएका थिए । जिल्ला प्रशासन कार्यालयलगायत विपक्षीको नाममा कानुन बमोजिम बाहेक निवेदकलाई पक्राउ नगर्न र निवेदकको जग्गामा प्रवेश नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ।
अदालतको आदेशपछि हर्कले सामाजिक संजालमा स्टाटस लेख्दै आफूले स्वागत गरेको प्रतिक्रिया दिएकमा छन् । पछिल्लो समय गोरु प्रकरणमा मेयर हर्क मौन रहेको भन्दै आलोचना भईरहेको अवस्थामा आज मात्रै उनले सामाजिक सद्भाव कायम गर्न अपिल गरेका छन् । यसअघि धरानका पूर्व मेयरहरुले पनि धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै विज्ञप्ति जारी गरेका थिए ।