१७ भदौ,एजेन्सी ।
म्यानमारविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका नेपाली राष्ट्रिय पुरुष पुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालले ’फिफा विन्डो’ अन्तर्गत म्यानमारको याङ्गुनमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ ।
आगामी अक्टोबरमा हुने विश्वकप छनोटको लागि नेपाल तयारी गरिरहेको छ । गत जुनमा भारतको बेंगलोरमा भएको साफ च्याम्पियनसिप खेलेको टिममा रहेको टोलीमा १० खेलाडी परिवर्तन भएको छ । आशिष गुरुङ, अन्जन राई, छिरिङ लामा, उत्सव राई, हिसुब थपलिया, जिलेस्पीजंग कार्की र कृतिशरत्न छुञ्जु पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।
साफ खेलेको टिमबाट कप्तान किरणकुमार लिम्बुसहित दिप कार्की, सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, एरिक विष्ट, लकेन लिम्बु, आवास लामिछाने, आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी र आशिष चौधरीले निरन्तरता पाएका छन् ।
गोलकिपर अभषेक बरालसहित डिफेण्डरहरु आशिष गुरुङ, अन्जन राई र छिरिङ लामा मिडफिल्डरद्वय उत्सव राई र कृतिशरत्न छुञ्जु तथा फरवार्ड जिलेस्पीजंग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया टिममा थपिएका छन् ।
साफ खेलेको टिममा रहेका विमल पाण्डे, देवेन्द्र तामाङ, सिमान्त थापा, विमल घर्ती मगर, विशाल श्रेष्ठ, मणि कुमार लामा र नविन लामा टिममा छैनन् । निशान खड्का, पुजन उपरकोटी र दिपकराज सिंह ठकुरी अष्ट्रेलिया पलायन भइसकेका छन् ।
यस्तो छ नेपाली टोली :
गोलकिपर= किरणकुमार लिम्बु, दीप कार्की र अभिशेक बराल
डिफेन्डर= सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई र छिरिङ लामा
मिडफिल्डर= एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई र क्रितिशरत्न छुन्जु
फरवार्ड= आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाङी, आशिष चौधरी, जिलेस्पी जङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया