२० भदौ, काठमाण्डौ ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् । रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम बाबु सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए ।
सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा लगिएको छ । भृकुटीमण्डपमा रिपोर्टर्स क्लवको कार्यक्रमबाट बाहिरिने क्रममा एक व्यक्तिले खुकुरी प्रहार गरेको क्लबका सचिव ईश्वर कार्कीले बताएका छन् । यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले बताएका छन् । ढुंगेलका अनुसार उनी आफूलाई अभियन्ता भन्ने गर्छन् । पूर्वमन्त्री समेत रहेका यादव रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि सापकोटाले खुकुरी प्रहार गरेका थिए ।
रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमा सापकोटा पनि पुगेका थिए । कार्यक्रम सकिएपछि बाहिरिने क्रममा यो घटना भएको हो । यादव उपचाररत ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालका अनुसार यादवको टाउको र जिउमा चोट लागेको छ।