२१ मंसिर, विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो तथा मल्टिस्पेशियालिटी हस्पिटल अब सुपरस्पेशियालिटी अस्पताल बनेको छ । न्युरोले अत्याधुनिक १ दशमलव ५ टेस्ला एमआरआई भित्र्याएको छ ।
यस्तै नयाँ सुविधा सम्पन्न अत्याधुनिक नयाँ भवनमा ५६ शैय्या थप गर्दै अस्पतालमा १५० भन्दा बढी शैय्याबाट अब सेवा दिने भएको छ ।
यसअघि न्युरोले ० दशमलव ३५ टेस्लाको एमआरआइबाट सेवा दिइरहेको थियो ।
नयाँ एमआरआई भित्र्याएसँगै एकै अस्पतालमा दुई एमआरआइबाट सेवा दिने कोशी प्रदेशमा नौलो अभ्यास भएको न्युरो अस्पतालका अध्यक्ष डा. विरेन्द्रराज विष्टले जानकारी दिए ।
न्युरोले आज एक कार्यक्रमको आयोजना गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीबाट अत्याधुनिक सेवा सुविधासहितको नयाँ भवन र एमआरआई सहितको सेवाको शुभारम्भ गरेको छ ।
न्युरोले नयाँ भवनबाट डेक्सा तथा अल्ट्रासाउन्ड, वातानुकुलित ओपिडी सेवाहरु डिजिटल रुपमा सुरुवात गरेको छ ।
समयको क्रमसँगै स्तरीय स्वाथ्यसेवा प्रवाह गर्न अत्याधुनिक सेवाहरु विस्तार गरिएपछि अब न्युरो मल्टिस्पेशियालिटी हस्पिटल सुपरस्पेशियालिटी अस्पताल बनेको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियाललिटी हस्पिटलका प्रबन्ध निर्देशक राजेश भट्टराईले बताएका छन् ।
न्युरोले आफ्नो स्थापनाको २३ वर्षे यात्रामा गम्भिर प्रकृतिका रोगहरुमा विशेषज्ञ चिकित्सकहरुबाट विभिन्न २३ वटा सेवाहरु प्रदान गर्दै आएको छ ।