एजेन्सी,भदौ २५
यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार राती भएको खेलमा यस पटकको विश्वकप विजेता फ्रान्सले नेदरल्यान्ड्सलाई २–१ ले पराजित गरेको छ ।
फ्रान्सले युवा स्टार किलियन एमबाप्पेको १४ औं मिनेटमा ब्लेस माटुइडीको पासमा गरेको गोलसँगै खेलमा सुरुआती अग्रता लिएको थियो । तर , दोस्रो हाफको ६७ औं मिनेटमा केनी टेटेको पासको सदुपयोग गर्दै रायन बाबेलले गोल गरेर खेल बराबरीमा ल्याए ।
त्यसको ८ मिनेटपछि ओलिभिएर जिरुडले गोल गर्दै फ्रान्सलाई जित दिलाएका थिए । विश्वकप अवधिभर गोल गर्न नसकेका जिरुडले बेन्जामिन मेन्डीको पासमा गोल गरेका थिए ।
यस गोलसँगै जिरुडले अन्तर्राष्ट्रिय गोल संख्यामा फ्रान्सका पूर्व कप्तान जिनेदिन जिदानलाई पनि पछाडी पारेका छन् । उनले ३१ औं गोल गर्ने क्रममा ८ सय मिनेट लामो गोलको खडेरी पनि तोडे । चेल्सीबाट व्यवसायिक फुटबल खेलेका जिरुडले टोलीलाई नेसन्स लिगमा ३ अंक दिलाए । दुवै टोलीले आफ्नो पहिलो रोजेका खेलाडीलाई मैदान उतारेका थिए ।