५ पुष, एजेन्सी ।
रुस र चीनबीच द्विपक्षीय व्यापारमा अमेरिकी डलरको प्रयोग नगर्ने सहमति भएको छ । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले दुई देशका सरकार प्रमुखबीचको २८ औँ नियमित बैठकमा यस्तो बताएका हुन् । मस्को र बेइजिङले द्विपक्षीय सम्झौतामा डलरलाई लगभग पूर्णरूपमा त्यागेको उनले बताएका हुन् ।
“पारस्परिक व्यापार लगभग एक तिहाइले बढेको छ । यस बीचमा अधिकांश भुक्तानी अर्थात् ९० प्रतिशतभन्दा बढी स्वदेशी मुद्रामा भएको छ । जसले आर्थिक सम्बन्धमा लगभग पूर्ण डि–डलराइजेसन (अमेरिकी डलर हटाएको) देखाउँछ,” रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले भनेका छन् ।
रुस र चीनबीचको द्विपक्षीय व्यापारले निर्धारित समयभन्दा अघि नै २०० अर्ब डलरको आँकडा पार गरेको उनले बताएका छन् । रुसले युक्रेन युद्धपछि युरोपेली राष्ट्रका लागि इन्धन खरिदमा भुक्तानीका लागि रुबल अनिवार्य गरेको थियो । यसैबीच हालैको अमेरिका भ्रमणमा चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी जो बाइडेनलाई चीनले ताइवानलाई मुख्यभूमिसँग पुनर्एकीकरण गरिछाड्ने बताएको खुलासा भएको छ।
तर, एकीकरणको समय भने निर्धारण गरिनसकेको उनले बताएका थिए ।सी र बाइडेनबीच सान फ्रान्सिस्कोमा गत महिना शिखर वार्ता भएको थियो । एनबीसी न्युजले अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै जनाएअनुसार त्यतिबेला सी र बाइडेन करिब एक दर्जन अमेरिकी र चिनियाँ अधिकारीहरु सहित बैठकमा थिए।
त्यहीबेला सीले बाइडेनलाई ताइवानलाई शान्तिपूर्ण तरिकाले चीनमा मिसाउनु आफूहरुको प्राथमिकता भएको बताएका थिए । केही अमेरिकी अधिकारी तथा विश्लेषकहरुले सीले ताइवानलाई २०२५ वा २०२७ मा कब्जा गर्ने आकलन व्यक्त गर्दै आएका थिए ।
सीले बाइडेनलाई ती आकलन गलत भएको र आफूले त्यो समय निर्धारण गरिनसकेको बताएका थिए । सो भेटअघि नै चिनियाँ अधिकारीहरुले बैठकपछि बाइडेनले ताइवानको स्वतन्त्रतालाई अमेरिकाले समर्थन नगरी चीनको शान्तिपूर्ण एकीकरणलाई समर्थन गर्नुपर्ने माग राखेका थिए। जसलाई ह्वाइट हाउसले अस्वीकार गरेको थियो । सीले सार्वजनिक रुपमै ताइवानलाई चीनमा मिलाइछाड्ने बताउँदै आएका छन् ।